क्यानडासहित अमेरेकी र युरोपेली मुलुकमा गाँजाको वैधानिक प्रयोग खुला भइरहेका बेला नेपालमा यो विषयले संसदमा प्रवेश पाएको छ।
केही समयअघि प्रतिनिधिसभा बैठकमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले यसबारे कुरा उठाएका छन्। सांसद खतिवडाले विदेशमा धमाधम गाँजा खुला भइरहेका बेला नेपालले समयमै यसबारे पहल गर्नुपर्ने बताएका थिए।
यसबारे सेतोपाटीका चेतना गुरागाईं र विवेक राईले सांसद खतिवडासँग गरेको थप कुराकानीको सम्पादित अंश उनकै शब्दमाः
गाँजालाई लागुऔषध मानेर प्रतिबन्ध लगाउने मुलुकहरूले नै अहिले खुला गरिरहेका छन्। अमेरिका, युरोपेली मुलुक र क्यानडा लगायतले गाँजाको वैधानिक खेती र व्यवसाय थालेका छन्। उनीहरूले यसैबाट करोडौं आय गरेका छन्।
उनीहरू आफूले उत्पादन गर्ने गाँजा औषधि उत्पादन गर्ने मुलुकलाई आपूर्ति गरिरहेका छन्। अमेरिकाका २२ भन्दा बढी राज्यमा औषधिनिम्त गाँजा खुला छ। अबको तयारी हेर्दा ३२ राज्यमा खुला हुने देखिएको छ। क्यानडाले पूरै खोलिसक्यो। नेदरल्यान्ड्समा पहिल्यै खुला छ। थाइल्यान्ड र श्रीलंकाले हालै खोले।
यसबाट के बुझिन्छ भने, सम्पन्न देशहरू कानुन र अन्तर्राष्ट्रिय सम्झौता नै पक्रेर गाँजा व्यापार गरी आय बढाइरहेका छन्। किसानका निम्ति आम्दानीको स्रोत र यसको औषधीय गुण उपभोग गरिरहेका छन्। उनीहरूले संयुक्त राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठन मातहत रहेरै यो कदम चालेका हुन्।
हामीले पनि त्यहीअनुसार गाँजा वैधानिक गर्ने बाटो पहिल्याउनुपर्छ।
सम्पन्न मुलुकले नै कुनै बेला प्रतिबन्धित भनेको गाँजाबाट आय बढाउँदा अफ्रिका र एसियाका गरिब मुलुकहरू पछि पर्ने कुरै आउन्न। गरिब मुलुकको आर्थिक अवस्था सुधार्न मद्दत गर्ने यसको खेतीलाई झनै प्रोत्साहन गरिनुपर्छ।
हामीकहाँ गाँजाको सम्भावना प्रशस्त छ। यहाँको हावापानी गाँजा उत्पादन निम्ति अतिराम्रो छ। हामीले खेती नै नगर्दा पनि उम्रिन्छ। विदेशीले टनेल हाउस बनाएर खेती गर्न परेको छ। हामीले व्यवस्थित खेती गर्ने हो भने दोब्बर उत्पादन हुन्छ।
गाँजा खेती वैधानिक गर्दा कम्तीमा २५ प्रतिशत किसान लाभान्वित हुन्छन्। उनीहरूको आर्थिक अवस्था सुध्रिन्छ। तर हाम्रा किसान त गाँजा फलाएकै कारण जेल गइरहेका छन्। जेल जानेमा अतिविपन्न र गरिबहरू बढी छन्। यो न्यायोचित भएन। किसानलाई त्रास र लुकिछिपी व्यापारीलाई कमाउने भाँडो बनेको छ।
हामी सम्पन्नताको बाटोमा हिँड्ने भनिरहेका बेला किसानमाथि अन्याय गरेर कसरी अघि बढिएला?
विश्व स्वास्थ्य संगठनले पनि यसमा औषधीय गुण छ भनिसक्यो। यसलाई लागूपदार्थको वर्गबाट अटाएर औषधीय वर्गमा राख्न सिफारिस गरेको छ भन्ने सुनेको छु। अब गाँजा खुला गर्नु गलत भए यी सम्पन्न देशहरू किन यसरी लाग्थे?
हामीले अहिल्यै पहल गरेनौं भने निकै पछाडि पर्छौं। अरू देशले खोल्दै जाने, हामी चाहिँ हात बाँधेर बस्ने हो भने झनै धेरै अवैध कारोबार बढ्छ। आर्थिक घाटा हामीलाई नै हुन्छ। जुन कानुन टेकेर धनी देशले आम्दानी गरिरहेका छन्, गरिब मुलुक भने त्यही कानुनका आधारमा पिछडिने कुरा हुँदैन।
यहाँ वैधानिकताको गलत अर्थ नलागोस्। गाँजालाई वैधानिकता दिने भनेको ठेलागाडा वा चियापसलमा राखेर बेच्न दिनुपर्यो वा मनोरञ्जन निम्ति खान दिनुपर्यो भन्ने होइन। केही देशले यसो पनि गरेका होलान्। हामी अहिल्यै यो तहमा जान सक्दैनौं। मनोरञ्जन निम्ति गाँजा सेवन गर्नेबारे अहिलेकै कानुन हुनुपर्छ।
वैधानिकता भनेको औषधि बनाउन दिनुपर्छ भन्ने हो। खेती गरी निर्यात गर्नुपर्छ। अर्थात् ती किसानलाई खेती गर्न दिनुपर्यो जसले यसबाट फाइदा लिएर जीवनस्तर उकास्न सक्छन्। त्यो स्वास्थ्य संस्थालाई अनुमति दिनुपर्यो जसले यसको औषधि बनाउन सक्छन्। सदुपयोग गर्न सक्छन्। हामीकहाँ बजार भएन भने विदेशीले जहाँ जसलाई बेच्दै छन् उसैलाई बेच्ने प्रयास गरौं भन्ने हो।
अब कुरा उठ्छ, दुरूपयोग होला भन्ने। गाँजा खुला गरेका देशले दुरूपयोगको सम्भावना देखेनन् होला? तिनले कसरी नियमन गरिरहेका छन् त? हामी त्यही बाटो हेर्न सक्छौं। वा हामीले रक्सी, चुरोटजस्ता हानिकारक पदार्थ नियमनमा जे गरिररहेका छौं, गाँजामा पनि त्यही गर्न सक्छौं। राज्यले नियमन गर्न सक्दिनँ भन्न पाउँदैन।
अर्को कुरा, अहिले गाँजासम्बन्धी जति पनि 'अपराध' मानिएका छन्, तीमध्ये अधिकांशको कारण गाँजा प्रतिबन्धित भएरै हो। वैधानिकता दिनेबित्तिकै यो रोकिन्छ। खेती र व्यापार गर्नेले वैधानिक हिसाबले अनुमति लिएरै काम गर्छ। उनीहरू जेल जान पर्दैन वा अपराधी भनिन पर्दैन।
यसै पनि हामीकहाँ कारोबार कहाँ रोकिएको छ र? भइरहेको छ भने यसलाई वैधानिकता दिऔं भन्ने हो। हाम्रो पहल मात्र नपुगेको हो।
अब मार्च १३ देखि २२ सम्म नार्कोटिक्स सम्मेलन हुँदैछ। हाम्रो मन्त्रीज्यू पनि जानुहुन्छ होला। उहाँलाई म यो कुरा त्यहाँ उठाउन अनुरोध गर्छु। एकैपटकमा केही नहोला। तर कुरा उठाएपछि हामी यो बाटो हिँड्छौं है भन्ने त हुन्छ।
धेरै राजनीतिक नेताहरूले यसमा सहमति जनाउनुभएको छ। संसदमा यो कुरा उठाएपछि मलाई धन्यवाद दिने धेरै माननीय हुनुहुन्थ्यो। गाँजा उत्पादन हुने जिल्लाका माननीयहरूले यसमा ठूलो समस्या झेल्नुपरेको छ। उहाँहरू पनि आफ्ना जिल्लाको आर्थिक स्तर उकास्ने सम्भावना बोकेको गाँजा व्यवस्थित गरी आम्दानी गर्न चाहनुहुन्छ।
त्यसैले गाँजा खेती, बिक्री वितरण र औषधि बनाउन खुला गर्नुपर्नेबारे अब हामीले सोच्नैपर्ने अवस्था आएको छ।
सोच्ने मात्र होइन, अब यसमा बहस हुनुपर्छ।