दुर्घटनामा नपरेका भए संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले फागुन १६ गते संसदमा सम्बोधन गर्ने थिए। अधिकारीको जवाफ माग्दै तीन सांसदले पाँच प्रश्न दर्ता गराएका थिए।
सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुलाको गोकुलेश्वर एयरपोर्ट पुन: सञ्चालनमा ल्याउने विषयमा प्रश्न दर्ता गराएका थिए। अधिकारीले उक्त प्रश्नमा जवाफ दिने संसदको कार्यसूची छापिएको थियो।
त्यस्तै अर्का सांसद रामबहादुर बिष्टले खप्तड, बडिमालिका, रामारोशन र तितौडामा विदेशी पर्यटक आकर्षित गर्ने कार्ययोजना सोधेका थिए। बिष्टले नै अछामको कमलबजार एयरपोर्ट सञ्चालनमा ल्याउने विषयमा प्रगति विवरण मागेका थिए।
तर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरेर फर्कने क्रममा मन्त्री अधिकारी दाह्रेभरीमा दुर्घटनामा परे। उनले भोलिपल्टको संसदमा जवाफ दिन पाएनन्।
मन्त्री अधिकारीले आफूले मन्त्रालय सम्हालेपछि पटक पटक अवलोकन गरेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका विषयमा समेत संसदमा प्रश्नको सामना गर्दै थिए। उनलाई कांग्रेस सांसद बालकृष्ण खाँडले भारतले दिने भनिएको हवाई रुट के भयो भन्दै प्रश्न दर्ता गराएका थिए।
खाँडले नै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल कहिले पुरा हुन्छ भन्ने अर्को प्रश्न समेत दर्ता गराएका थिए। मन्त्री अधिकारीले जिवित रहँदा सबैभन्दा धेरै जोड गौतमबुद्ध विमानस्थल निर्माण समय भन्दा छिटो सक्न ठेकेदारलाई ताकेता गरेका थिए।
सांसदहरुले राखेको प्रश्न संघीय संसद सचिवालयले सांसदहरुलाई वितरण गर्न छपाइ समेत गरेको थियो। तर छापिएका तीन सय प्रति सचिवालयले डस्टबिनमा हालेको छ।
पर्यटन मन्त्रलायका तर्फबाट प्राप्त प्रश्नको जवाफ अब प्रधानमन्त्री वा अन्य मन्त्रीले संसदमा टेबल गर्नेछन्। सांसदहरुले मन्त्रीबाट जवाफ नपाएपनि लिखित रुपमा भने जवाफ पाउनेछन्।