पाकिस्तानमा भारतीय वायु सेनाले बम खसालेको समाचार पाकिस्तानी पक्षले नै पहिला सार्वजनिक गरेको हो। मंगलबार बिहान भारतीय समयअनुसार ३.३० बजे वायु सेनाका १२ जहाजले कस्मिरमा ‘लाइन अफ कन्ट्रोल’ पार गरी एक हजार किलोग्रामका बम खसालेको भारतीय पक्षको दाबी आउनुभन्दा पहिला पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले ५.१२ बजे ट्वीट गरेका थिए-भारतीय वायु सेनाका जहाजले लाइन अफ कन्ट्रोल उल्लंघन गरे। तुरून्तै पाकिस्तान एयर फोर्सले प्रतिकार गरेपछि फिर्ता भए।
कार्गिल युद्धमा भारतले केही हवाइ शक्ति प्रयोग गरेको भए पनि सन् १९७१ को युद्धपछि भारत र पाकिस्तानका जहाज एकअर्काविरूद्ध पाकिस्तानी आकाशमा उडेका छैनन्। गफुरको ट्वीटले केही ठूलै कुरा भयो भन्ने सन्देश दिएको थियो।
बिहान ७ बजेर ६ मिनेटमा गफुरले अर्को ट्वीट गरेर घटना मुजफरावाद क्षेत्रमा भएको बताए। उनले पाकिस्तानी सेनाको प्रतिकारपछि भारतीय जहाजले बम खसालेको ठाउँ बालाकोट भएको खुलाए।
९ बजेर ५९ मिनेटमा जनरल गफुरले अर्को ट्वीट गरे जसमा रूखहरू भएको अज्ञात ठाउँमा बमबाट भएको क्षतिको तस्बिर हाले। र भारतीय जहाज घुसेको क्षेत्र पाकिस्तानी अधिनमा रहेको कस्मीरमा लाइन अफ कन्ट्रोलदेखि ३-४ माइलभित्र भएको बताए।
बिहान साढे ११ बजे पत्रकार सम्मेलन गर्दै भारतीय विदेश सचिव विजय गोखलेले वायु सेनाको निशाना बालाकोटमा रहेको पाकिस्तानी आतंकवादी समूह जैस-ए मोहम्मदको तालिम केन्द्र भएको बताए।
पत्रकारलाई प्रश्न सोध्न नदिइएको उक्त पत्रकार सम्मेलनमा उनले जैस-ए-मोहम्मदविरूद्धको यो कारबाही गैरसैनिक भएको पनि उल्लेख गरे। उनले फेब्रुअरी १४ मा ४० भारतीय सैनिकको ज्यान लिने पुलवामा आत्मघाती हमला गरेको उक्त समूहले फेरि आक्रमण गर्ने सूचनाका आधारमा त्यस्तो आक्रमण रोक्न कारबाही गरिएको तर्क गरे।
गोखलेले भारतीय वायु सेना र हवाइ कारबाही शब्द प्रयोग गरेनन् बरू विश्वसनीय खुफिया सूचनाका आधारमा गरिएको गैरसैनिक र प्रतिरोधात्मक कारबाही भने।
उनले आक्रमणको निशाना पाकिस्तान वा पाकिस्तान नियन्त्रित कस्मिर कहाँ हो भन्ने पनि खुलाएनन्।
पाकिस्तानमा दुईटा बालाकोट छन्।
एउटा खाइबर पख्तुन्ख्वा प्रान्तमा छ जुन पाकिस्तान नियन्त्रित कस्मिरको लाइन अफ कन्ट्रोलदेखि झन्डै १०० किलोमिटर पर पर्छ। जनरल गफुरले दाबी गरेजस्तै लक्षित निशानामा बमवारी गर्न असफल भए पनि भारतीय जहाज त्यतिभित्र पुग्नु आफैंमा पाकिस्तानका लागि लाजमर्दो कुरा हो।
भारतीय वायु सेनाका मिराज २००० जहाजले त्यो बालाकोटमा प्रहार गर्न त्यहीँ पुग्नुपर्छ भन्ने पनि छैन।
अर्को बालाकोट भने लाइन अफ कन्ट्रोल नजिकै छ। जनरल गफुरको अन्तिम ट्वीटले बमवारी त्यहीँ भएको संकेत गर्छ।
यदि भारतीय विदेश सचिव गोखलेले भनेको बालाकोट लाइन अफ कन्ट्रोल नजिकैको हो भने यसले प्रश्न जन्माउँछ- भारतीय जमिनबाटै प्रहार गर्न सकिने त्यति नजिकै आक्रमण गर्न भारतीय जहाजले लाइन अफ कन्ट्रोल किन पार गर्नु पर्यो?
भारतीय सैन्य अधिकारीले अनौपचारिक रूपमा बमवारी गरिएको बालाकोट खाइबर पख्तुन्ख्वा प्रान्तकै भएको बताएका छन्। जनरल गफुरले सुरूमा गरेको ट्वीटमा उल्लेख भएको मुजफरावाद क्षेत्रमै बालाकोट पर्छ।
भारतीय विदेश सचिव गोखलेका अनुसार बमवारीबाट जैस-ए-मोहम्मदका कमाण्डरसहित ठूलो संख्यामा लडाकुहरू मारिएका छन्। तर पाकिस्तानले सो आक्रमण कोही पनि हताहत नभएको दाबी गरेको छ।
यदि भारतीय दाबी सही हो भने भारतले सार्वजनिक रूपमा पुलवामा हमलाको जवाफ दिने धम्की दिइरहेका बेला त्यति ठूलो संख्यामा आतंककारीहरू एकै ठाउँमा किन जम्मा भए?
यसको एउटा जवाफ आतंककारीहरूले भारतले लाइन अफ कन्ट्रोल छेउमै आक्रमण गर्छ, यति टाढा आउन सक्दैन भन्ने सोचाई राखेका हुन सक्छन्।
कुनै आधिकारीक र प्रमाणित तथ्य नभएको बेला भारतीय टेलिभिजन च्यानलले ३००-४०० आतंककारी मारिएको दाबी गरिरहेका छन्।
पाकिस्तानले आक्रमण भएको स्थानमा स्थानीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई लैजाने बताएको छ।
के यो आक्रमण युद्धजस्तै हो?
अन्तर्राष्ट्रिय कानुनले देशहरूलाई आत्मरक्षाको अधिकार दिएको छ तर आफूमाथि हुन सक्ने हमला रोक्ने आत्मरक्षाबारे त्यति स्पष्टता छैन। अमेरिका र इजरायलले यस्तो आफूमाथि हुन सक्ने हमला रोक्ने आत्मरक्षाको अधिकार प्रयोग गरेका छन्। भारतले पहिलो पटक यस्तो अधिकारको प्रयोग गरेको बताएको छ।
सन् २०१६ को सर्जिकल स्ट्राइकभन्दा यो आक्रमण फरक छ। त्यतिबेलाको आक्रमण पाकिस्तानतर्फको विवादित कस्मिरमा गरिएको थियो। यदि अहिले आक्रमण गरिएको बालाकोट खाइबर पख्तुन्ख्वाको हो भने यो बमवारी विवादित ठाउँमा नभएर पाकिस्तानमाथि गरिएको हो।
एक पाकिस्तानी सैन्य विश्लेषक मुसरफ जैदीले यो हमला पाकिस्तानमाथि भएको बताएका छन्।
‘हामी स्पष्ट हुनुपर्छ, बालाकोट पाकिस्तान नियन्त्रित कस्मिरमा छैन। यदि भारतीय वायु सेनाका जहाजले बालाकोटमा बम फालेका हुन् भने उनीहरू लाइन अफ कन्ट्रोलमात्र होइन पुरै कस्मिर पार गरेर खाइबर पाख्तुख्वा पुगेका हुन्। भारतले लाइन अफ कन्ट्रोलमात्रै उल्लंघन गरेको होइन उसले पाकिस्तानमाथि आक्रमण गरेको हो,’ जैदीले ट्वीटमा लेखेका छन्।
पाकिस्तानको जवाफ के हुन्छ त?
पाकिस्तानले कुनै पनि क्षति नभएको दाबी गरेकाले उसलाई यसको जवाफ दिने दबाब हुँदैन। २०१६ को सर्जिकल स्ट्राइकजस्तै हुँदै नभएको आक्रमण भनेर टार्न सक्छ।
मंगलबार दिउँसो भएको पाकिस्तानी सुरक्षा परिषद्को बैठकपछि संवाददातासँग कुरा गर्दै विदेश मन्त्री साह मोहम्मद कुरेशीले बालाकोटमा कथित आतंकवादी शिविर नष्ट भएको र सैयौं मानिस मारिएको भारतीय दाबीलाई पाकिस्तानले खारेज गर्ने बताए।
‘भारत सरकारले आफ्नो घरेलु आवश्यकता पुरा गर्न यस्तो गरेको हो। किनकी त्यहाँ चुनाव हुँदैछ,’ कुरेशीले भने, ‘आफ्नो उद्देश्य पुरा गर्न एक पटक फेरि भारतले मनगढन्ते र आधारहीन दाबी गरेको छ।’
पाकिस्तानी सरकारले हमला भएको बालाकोट खाइबर पाख्तुख्वामा नभएर लाइन अफ कन्ट्रोल नजिकै आफ्नो नियन्त्रणमा रहेको कस्मिरमा भएको बताएकाले पनि तत्काल कुनै जवाफ दिन दबाब पर्ने छैन।
भारतीय विदेश सचिव गोखलेले प्रयोग गरेको गैरसैनिक भन्ने शब्द र उनको विज्ञप्तिको ‘टोन’ले यो कुरा बढेर नजाओस् भन्ने कुरा देखाउँछ।
(भारतीय अनलाइन द वायर डट इनमा प्रकाशित लेखको सम्पादीत अंश।)