मंगलबार झिसमिसे नहुँदै पाकिस्तान भूमिमा भारतीय वायु सेनाले बम खसालेपछि भारत-पाकिस्तान सम्बन्धको तनाव चुलिएको छ।
बालाकोटमा भएको बमबारीलाई दुबै देशका अधिकारीहरूले आ-आफ्नो रणनीतिअनुसार ब्याख्या गरेका छन्।
भारतले पाकिस्तानको आतंकवादी समूह जैस-ए-मोहम्मदविरूद्धको यो अहिलेसम्मकै ठूलो हमला भएको बताएको छ।
विदेश सचिव विजय गोखलेले फेब्रुअरी १४ मा पुलवामा भएको आत्मघाती हमलाजस्तै अरू हमला हुने सूचना मिलेकाले मंगलबारको बमबारी आवश्यक भएको तर्क गरेका छन्। वायु सेनाका जहाजले बम खसल्दा जैस-ए-मोहम्मदको तालिम अखडा ध्वस्त भएको र उसका सैंयौं लडाकु मारिएको भारतको दाबी छ।
दिल्लीमा सुरक्षा अधिकारीहरूसँग छलफल गरेपछि राजस्थानको चारू पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमा भएको बमवारीको शब्द प्रयोग गरेनन्। तर अप्रत्यक्ष रूपमा त्यो भारतको सफलता भएको दाबी गरे।
सम्बोधनका क्रममा उनले आज भारत सुरक्षित रहेको सन्देश सबैतिर पुगेको बताए। कवितात्मक शैलीमा उनले भने- म देशलाई रोक्न दिन छैन। म देशलाई झुक्न दिने छैन। म देश मेटिन दिने छैन।
पाकिस्तानले भने भारतको दाबीअनुसार बालाकोटमा कुनै आतंकवादी अखडा ध्वस्त नभएको बताएको छ। ‘लाइन अफ कन्ट्रोल’ पार गरेर आएका भारतीय जहाजलाई पाकिस्तानी हवाइ सेनाले कारबाही गर्न खोजेपछि भागेको र त्यहीबेला बम फालेको पाकिस्तानको दाबी छ।
मंगलबार दिउँसो भएको पाकिस्तानी सुरक्षा परिषद्को बैठकपछि संवाददातासँग कुरा गर्दै विदेश मन्त्री साह मोहम्मद कुरेशीले बालाकोटमा कथित आतंकवादी शिविर नष्ट भएको र सैयौं मानिस मारिएको भारतीय दाबीलाई पाकिस्तानले खारेज गर्ने बताए।
‘भारत सरकारले आफ्नो घरेलु आवश्यकता पुरा गर्न यस्तो गरेको हो। किनकी त्यहाँ चुनाव हुँदैछ,’ कुरेशीले भने, ‘आफ्नो उद्देश्य पुरा गर्न एक पटक फेरि भारतले मनगढन्ते र आधारहीन दाबी गरेको छ।’
उनले भारतको यो गैरजिम्मेवारपूर्ण कदमको आफ्नो खुसीअनुसार उचित ठाउँमा पाकिस्तानले बदला लिने बताए।
‘प्रधानमन्त्री इमरान खानले सेनाका सबै अंग र आम पाकिस्तानी नागरिकलाई जस्तोसुकै अवस्थाको सामनाका लागि तयार हुनु भन्नुभएको छ,’ कुरेशीले भने,‘यो पाकिस्तानविरूद्धको आक्रमण हो। पाकिस्तान यसको जवाफ दिन्छ।’
पाकिस्तानले घटनाको वास्तविकता रिपोर्टिङ स्थानीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई घटनास्थलमा लैजाने पनि उनले जानकारी दिए। रोयटर्स र बिबिसीले प्रत्यक्षीदर्शीलाई उद्धृत गर्दै बमवारीमा एक जना घाइते भएको जनाएका छन्।
यसअघि भारतीय एयरफोर्सका जहाजले मंगलबार बिहान उज्यालो नहुँदै पाकिस्तान भूमिमा १ हजार किलोग्रामको बम खसालेका थिए।