गृहमन्त्री रामबहादुर थापाले नख्खुसहित देशभर २१ ठाउँमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा बम बिस्फोट गराएको बताएका छन्।
आइतबार संसदको राज्य व्यवस्था समितिमा बोल्दै मन्त्री थापाले घटना संलग्न भएको आशंकामा १६ जनालाई प्रहरीले पक्राउ गरेको बताए।
‘१ नम्बरबाहेक सबै प्रदेशमा एनसेलका टावरमा बम पड्काइएको छ। यी सबैमा राज्यविरूद्धको षडयन्त्र देखिन्छ। प्रारम्भिक सूचनाअनुसार बिस्फोटमा विप्लवको समूह संलग्न देखिन्छ.’ मन्त्री थापाले भने।
समितिले मन्त्री थापालाई नागरिकतासम्बन्धी विधेयकमा छलफलका बोलाएको थियो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू डिला संग्रौला र देवेन्द्रराज कँडेलले गृहमन्त्रीसँग नागरिकता विषयमा छलफल गर्नु पहिले नागरिकको ज्यान जाने गरी भइरहेका बिस्फोटका घटनाबारे जवाफ मागेका थिए।
गृहमन्त्री थापामा सरकारविरूद्ध आक्रमण गर्ने र समानान्तर सरकार चलाउने विप्लव समूहको बैठकको पछिल्लो निर्णयअनुसार बिस्फोटका घटना भएको बताए।
उनले चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलनलाई असफल पार्ने षडयन्त्रका रूपमा यस्ता घटना भइरहेको जिकिर गरे।
उनले विगतमा यस्ता घटनामा संलग्नले उन्मुक्ति पाएकाले हौसिएर यस्ता घटना भएको बताए।
‘यस्ता समूहको प्रतिरोध गर्न सरकार अब ठोस सुरक्षा योजना बनाएर अघि बढ्छ,’ थापाले भने।
यसैबीच विप्लव समूहका जनसरकार प्रमुख सन्तोष बुढा मगरले बिस्फोटका घटना जनताले गराएको तर्क गरेका छन्।
आइतबार दिउँसो सेतोपाटीसँग कुरा गर्दै उनले एनसेलमा भएका बिस्फोटबारे नबोल्ने बताए। ‘म कार्यक्रममा छु। जनताले बिस्फोट गराएका हुन सक्छन्। यसबारे हामी केही बोल्दैनौं,’ उनले भने।
यसअघि गत शुक्रबार साँझ ललितपुरको नख्खुस्थित एनसेलको कार्यालयमा भएको बम बिस्फोटमा परी तीन जना घाइते भएका थिए। लमजुङ घर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो।
गुरूङको राति साढे १ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ। घाइते गुरुङको दुवै खुट्टा चुँडिएको, कम्मरका हड्डीहरु भाँचिएका र रगत बग्ने ठूला नशाहरु काटिएको पाइएको अस्पतालले जनाएको छ। अत्याधिक रक्तश्राबका कारण उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
घाइते गुरूङलाई सुरूमा अल्का अस्पताल लगिएको थियो। त्यसपछि बीएन्डबी हुँदै अन्तिममा मेडिसिटी अस्पताल रेफर गरिएको थियो।
घटनाका अन्य घाइते ललितपुर ४ बागडोल बस्ने २६ को प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत २५ वर्षीया उरुशा मानन्धरको उपचार भइरहेको छ।