सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
शनिबार राजधानीमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेता नेपालले दण्डहीनताका कारण सबैतिर भ्रष्टाचार मौलाउँदै गएको बताए।
उनले सरकारी कार्यालयका कर्मचारीहरू पूरा समय कार्यालयमा नहुने, पैसाबिना सेवाग्राहीको काम नगर्ने प्रवृति व्यापक बन्दै गएको टिप्पणी गरे।
दण्डहीनताका कारण नै यस्ता अराजकता मौलाएको भन्दै उनले रोष प्रकट गरे। अमुक संस्था मात्रैको हैसियतमा राज्य रहन नसक्ने भन्दै उनले जनतालाई सुरक्षा, न्याय र समानताको प्रत्याभूति गर्दै अन्याय,अत्याचार र भ्रष्टाचारलाई नियन्त्रण गर्ने दायित्व राज्यको भएको बताए।
नेता नेपालले सरकारमा रहेकाहरूमा जनताको आवाज सुन्ने भन्दा पनि बोल्ने प्रवृत्ति मात्रै हावी भएको टिप्पणी गरे। जुनसुकै क्षेत्र र व्यवसायमा देखिएका समस्याहरूलाई राष्ट्रिय समस्याको रूपमा लिँदै समयमै सम्बोधन नहुने हो भने त्यसले विसंगति निम्त्याउने भन्दै उनले जनताको गुनासो तत्काल सुन्न सरकारलाई सचेत गराए।
कार्यक्रममा व्यवसायीहरूले पटक/पटकको ध्यानाकर्षण गराउँदा पनि सरकारले आफूहरूका समस्या सम्बोधन नगरेको गुनासो गरेका थिए।