सत्र वर्ष पुरानो राष्ट्रिय यातायात नीति संशोधन हुने भएको छ।
भौतिक योजना तथा यातायात मन्त्रालयले राष्ट्रिय यातायात नीति, २०५८ को संशोधनको तयारी भइरहेको बताएको छ।
मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले पहिले यातायात भन्नाले सडक यातायात मात्रै भएकाले अहिले जल यातायात र रेल यातायातलाई समेटिने गरी संशोधनको तयारी भइरहेको बताए।
उनका अनुसार सार्वजनिक यातायात व्यवस्थापनका विषयमा समेत नीतिले समेट्ने छ।
सापकोटाले भने, ‘नयाँ नीतिले सबै यातायात र त्यसका व्यवस्थापनमा कुन सरकारको भूमिका के हुनेछ भन्ने प्रष्ट पार्नेछ।’
मन्त्रालयले अहिले सडक र यातायातसँग सम्बन्धित तीन वटा ऐनको संशोधनको समेत तयारी गरिहेको प्रवक्ता सापकोटाले बताए।
सार्वजनिक सडक ऐन, २०३१, यातायात व्यवस्था ऐन, २०४९ र सडक बोर्ड ऐन, २०५८ संशोधनको क्रममा रहेको उनले जानकारी दिए।
उनले भने, ‘नयाँ संरचनाअनुसार यातायात सेवा सञ्चालन र व्यवस्थापनका लागि नयाँ बन्ने व्यवस्थाले सहयोग गर्नेछ।’