सर्वोच्च अदालतका बरिष्ठतम् न्यायाधीश दिपकराज जोशीले राजीनामा दिएका छन्।
आजैदेखि लागु हुने गरी प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामार्फत् राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाएको सर्वोच्च स्रोतले सेतोपाटीलाई जनाकारी दियो।
प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ समितिले जोशीलाई अस्वीकृत गरेको थियो। प्रधानन्यायाधीश राणाले उनलाई पुस १७ गते देखि इजलास तोकेका थिएनन्।
गत साउनमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिश गरेका जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो।
नेपालको संसदीय सुनुवाइको इतिहासमा प्रधानन्यायाधीश सिफारिश भएको व्यक्ति समितिबाट अस्वीकृत भएको यो पहिलो घटना हो।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले जोशीबारे विवाद रहेकाले उनलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरिएको बताएको थियो।
नेकपा सांसद योगेश भट्टराईले जोशीको आचरण र इमान्दारिताबारे सोधिएको प्रश्नमा उनले सन्तोषजनक जवाफ दिन नसकेको बताएका थिए।
जोशीको शैक्षिक प्रमाणपत्र पनि विवाद उत्पन्न भएको थियो। त्यसबाहेक उनले गरेका कतिपय अन्तरिम आदेश र फैसलामा पनि प्रश्न उठेको थियो। अन्तरिम आदेशमार्फत् एनसेनलाई करमा उन्मुक्ति दिने र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा पक्राउ गरी थुनामा राखेका चुडामणि शर्मालाई थुनामुक्त गर्न जोशीले दिएका आदेश विवादमा परेका थिए।