खोलानालामा प्राकृतिक स्रोतसाधनको व्यापक दोहन बढेको भन्दै नेपाली कांग्रेस मोरङले त्यस्तो कार्य रोक्न आफैं सक्रिय हुने चेतावनी दिएको छ।
खोलानालाको दोहन रोक्न सरकारले अटेरी गरेको भन्दै कांग्रेस मोरङले सचिव नागेश कोइरालाको नेतृत्वमा पाँच सदस्यीय समिति नै गठन गरेको छ।
आइतबार पार्टी कार्यालय तीनपैनीमा बसेको बैठकले कोइरालाको संयोजकत्वमा समिति नै गठन गरी दोहन रोक्ने चेतावनी दिएको हो। अवैध उत्खनन् भइरहेका खोला, नदीको निरीक्षण गरी प्रतिवेदन तयार पार्ने, रोक्न सरकारलाई सचेत गराउने नभए आफैंले सो काम थाल्न समितिलाई कार्यादेश दिइएको कांग्रेस मोरङले जनाएको छ।
समितिले स्थानीय, सरोकारवाला, प्रशासन, नागरिक समाज, विज्ञलगायतसँग छलफल गरेर प्रतिवेदन तयार पारी स्थानीय र प्रदेश सरकारलाई बुझाउने सभापति डिगबहादुर लिम्बूले बताए। प्रतिवेदन बुझाउँदा पनि सरकारले कारबाही नगरे जनतासँग मिलेर आफैं कारबाही थाल्ने कांग्रेसले जनाएको छ।
‘सात फिट खन्ने अनुमति पाएकोमा १३ फिटसम्म खनेको पाइयो, वातावरण अध्ययन प्रतिवेदन (इआइए)को मापदण्डविपरीत उत्खनन् भइरहेको छ,’ समितिका संयोजक कोइरालाले भने, ‘यस्तो कार्य बन्द गर्न हामी सरकारलाई ध्यानाकर्षण गराउँछौं, सरकारले नगरे हामी गर्छौं।’
यसअघि प्रदेशसभा बैठकमै कांग्रेसका सचेतक सूयर्माराज राईले खोलानाला दोहन रोक्न सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए। आइतबारको बैठकमा विशेष समय लिँदै राईले अवैध दोहन रोक्न सरकार उदासिन भएको आरोप लगाएका थिए।
‘सदनबाट आवाज उठाउँदा सरकारले ध्यान दिएन, त्यसैले आफैं सक्रिय हुनुपर्ने अवस्था आयो,’ सचिव कोइरालाले भने।
राईले खोलानाला आसपास क्षेत्रका सर्वासाधारणको नम्बरी जग्गाबाट समेत ठेकेदारले उत्खनन् गरिरहेको बताएका थिए।
उनले ठेकेदारको क्रियाकलापमा प्रहरी प्रशासन समेत मिलेको आरोप लगाएका थिए।
पछिल्लो समय मोरङका खोलानालामा मापदण्डविपरीत उत्खनन् बढेको कांग्रेसको आरोप छ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले त्यस्तो क्रियाकलाप रोक्नेबारे आफूहरूलाई जानकारी नआएको बताए।
‘खोलानालाको सबै काम स्थानीय सरकारको जिम्मेवारीमा छ। मापदण्ड के छ अनुगमन समिति छ,’ उनले भने, ‘हामीलाई स्थानीय सरकारले भनेको छैन, भनेको खण्डमा हामी काम गर्न तयार छौं।’