राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता एवम् संसदीय सुनुवाइ विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले ओली सरकारको एक वर्षे कार्यकाल पूर्णरूपमा असफल भएको दाबी गरेका छन्।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुराको दाबी गरेका हुन्।
कर्णले भने,‘केवल भाषण गर्दैमा देश बन्दैन। देश बनाउनको लागि त विकास गर्नुपर्छ। समृद्धि ल्याउनको लागि काम गर्नुपर्छ। अहिले मुलुकको आर्थिक अवस्था डामाडोल छ।’
कर्णले वर्तमान सरकारको एक वर्षे कार्यकालमा कोही पनि जनता सन्तुष्ट नभएको टिप्पणी गरे।
उनले भने,‘यो एक वर्षमा विकास निर्माण, सुशासन, सदाचार र नियुक्ति प्रक्रिया केही पनि राम्रो काम भएको छैन।’
राजपाको दृष्टिकोणमा वर्तमान सरकार कतै पनि सफल नभएको उनले जिकिर गरे।
विदेश नीतिमा पनि सरकार फेल भएको उनको तर्क छ।
यद्यपी उनले आफूहरूले संविधान संशोधनको आशमा यो सरकारलाई समर्थन गरेको स्पष्ट पारे।
उनले भने,‘तर हामी अहिले संसदमा विपक्षको बेन्चमा बसेका छौं। त्यसैले अब राजपाले कहिले समर्थन फिर्ता लिन्छ भनेर उद्युम मच्याइरहनुपर्दैन।’
प्रधानमन्त्री ओलीले आफूहरूलाई पटक–पटक संविधान संशोधन गर्छु भनेर आश्वासन दिएकोले पनि समर्थन जारी राखेको कर्णले स्पष्ट पारे। उनले भने,‘प्रधानमन्त्रीले हामीलाई पटक–पटक आश्वासन दिनुभएको छ, कहिले ७ दिनभित्र अघि बढाउँछु भन्नुभएको छ, कहिले तीन महिना भन्नुहुन्छ, अब पार्टीले यस विषयमा खास गरेर समर्थन जारी राख्ने वा नराख्ने भन्ने विषयमा अब बस्ने बैठकमा ठोस निर्णय गर्छ।’