सरकारले फागुन ७ गते ६९ औं प्रजातन्त्र दिवसको दिन प्रजातन्त्र दिवससम्बन्धी सूचनामूलक सामग्री प्रसारण गर्न देशभरका सबै एफएम रेडियो र टेलिभिजनहरूलाई आह्वान गरेको छ।
६९ औं प्रजातन्त्र दिवस मूल समारोह समिति अन्तरगतको प्रचार–प्रसार उपसमितिको आइतबार बिहान सिंहदरबारमा बसेको बैठकले फागुन ७ गते प्रजातन्त्र दिवसको दिन देशभरका सबै सरकारी तथा निजी सञ्चार माध्यमहरू एफएम रेडियो तथा टेलिभिजनहरूलाई प्रजातन्त्र दिवससम्बन्धी सूचनामूलक सामग्री प्रसारण गर्न आह्वान गरेको हो।
त्यसैगरी, उपसमितिले छापा सञ्चार माध्यमहरूलाई सो दिन प्रजातन्त्र दिवससँग सान्दर्भिक लेख, रचनालाई उच्च प्राथमिकता दिई प्रकाशन गर्न पनि उपसमितिले आग्रह गरेको छ।
रेडियो नेपाल र नेपाल टेलिभिजनले प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने विशेष समारोह कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने निर्णय पनि गरिएको उपसमितिमा सदस्य सचिव एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए।
सो दिन गोरखापत्र दैनिकले भने प्रजातन्त्र दिवस विशेषांक निकाल्नेछ। प्रजातन्त्र दिवसकै अवसर पारेर फागुन ६ गते बेलुका रेडियो नेपालले परिसंवाद कार्यक्रम पनि प्रसारण गर्ने निर्णय पनि उपसमितिले गरेको छ।
उपसमितिले प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेका मूल समारोह समितिले गरेको निर्णयलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव गुरुङले बताए।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित प्रजातन्त्र दिवस मूल समारोह समितिले आगामी फागुन ६, ७ र ८ गते देशभर तथा मुलुकबाहिर रहेको नेपाली कूटनीतिक नियोगहरूमा पनि प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ।
फागुन ७ गते सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथिको रूपमा सहभागी हुनेछिन् भने समारोहमा विशेष अतिथिको रूपमा उपराष्ट्रपति नन्दबहादुर पुन तथा प्रजातन्त्र दिवस मूल समारोह समितिको सदस्यको रूपमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी हुनेछन्।
विशेष समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ। सरकारले यस वर्ष संघीयता कार्यान्वयनको आधार वर्षको रूपमा प्रजातन्त्र दिवस मनाउन लागेको हो।
यसलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ।