प्रधानमन्त्री केपी शर्मा ओलीले हल्ला गर्न रुचाउने र सेलिब्रेटी बन्न चाहना राख्नेहरूले प्रहरी एकेडेमी सार्ने विषयमा अनैतिक टिप्पणी गरेको बताएका छन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मंगलबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ७८ औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
प्रहरी तालिमका सबै कार्यक्रम एकै थलोमा गर्न सक्नेगरी फराकिलो स्थानमा सार्ने विगतमा भएको निर्णयलाई नै कार्यान्वयनको चरणमा लैजाँदै गर्दा हल्ला रुचाउने र सेलिब्रेटी बन्न चाहनेहरूले अनैतिक टिप्पणी गरेको दाबी उनले गरे।
उनले भने, ‘हल्ला गर्न रुचाउनेहरूले कतिपयले सेलिब्रेटी स्वभावका आफूलाई सेलिब्रेटी देखाउनेका लागि अनैतिक खालका टिप्पणीहरू पनि त्यसमा गरे। अहिले नै राष्ट्रपतिज्यूले यहाँबाट लखेट्न खोज्या हो कि जस्तो पनि पारिदिए। छिमेकी पिरेको भन्ने शब्दहरू पनि प्रयोग गरे।’
शान्ति सुव्यवस्था खलबल्याउने र जनतालाई आतंकित पार्ने काम भइरहेको भन्दै सरकारले प्रधानमन्त्री ओलीले सरकारले त्यस्ता गतिविधि कुनै पनि अवस्थामा गर्न नदिने बताए।
प्रधानमन्त्री ओलीले सरकारले अपराधरहित सचेत समाज निर्माण गर्न चाहेको स्पष्ट पारे।
कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रहरी निरीक्षक आधारभूत तालिममा सहभागीमध्ये उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरेका थिए।