परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राजदूत पदको विषयमा नेताहरूको धारणा हाँसो लाग्दो रहने गरेको बताएका छन्। राजदूत नियुक्तिमा समावेशिताबारे संसदीय सुनुवाइ समितिले बिहिबार गरेको छलफलमा बोल्दै मन्त्री ज्ञवालीले ‘केही भएन भने राजदूत बनाएर पठाइदिनुहोस् न’ भनेर सिफारिस आउने गरेको बताए।
‘कहिलेकाहिँ हाँसो लाग्छ’, ज्ञवालीले भने, ‘राजनीतिक व्यक्तिलाई ठाडै जवाफ के दिनु … राजदूतको विषयलाई कति हल्का ढंगले लिइन्छ।’
सुनुवाइ समितिले ज्ञवालीलाई राजदूत सिफारिस गर्दा संविधानअनुरूप समावेशिता नअपनाइएको भन्दै समितिमा छलफलका लागि डाकेको थियो। मन्त्री ज्ञवालीले हाल २८ देश र नियोगमा नेपाली राजदूतको प्रतिनिधित्व रहेको उल्लेख गर्दै त्यसमध्ये पाँच स्थान खाली रहेको जानकारी दिए।
नेपालले खटाएका मध्ये पाँच ठाउँमा महिला नेतृत्व, एक ठाउँमा दलित, दुई ठाउँमा जनजाति र एक ठाउँमा मधेसी राजदूत रहेको ज्ञवालीले समितिलाई जानकारी दिए। १९ स्थानमा भने खस आर्यको नेतृत्व रहेको उनले बताए।
सुनुवाइ समितिका सदस्यहरूले परराष्ट्र मन्त्री ज्ञवालीलाई उपसचिवलाई राजदूत बनाएर भए पनि महिलाको संख्या बढाउन सुझाव दिए। तर ज्ञवालीले भने करियरतर्फबाट सहसचिवलाई राजदूतमा सिफारिस गर्ने अहिलेको चलन बदल्न नसकिने बताए।
‘२०६२/०६३ पछि सेवा प्रवेश गरेकाहरूको परराष्ट्र सेवामा १२ वर्ष भयो’, ज्ञवालीले भने, ‘केही वर्षमा उनीहरू लिडिङ पोजिसनमा आउँछन्।’
उनले परराष्ट्र सेवाबाट हाल दुई महिला सहसचिव राजदूत रहेको जानकारी गराए।
ज्ञवालीले राजदूत बनाउने मापदण्ड तयार गरिएको उल्लेख गरे।
‘कम्तिमा राम्रो भाषाको ज्ञान नभए पनि कम्युनिकेशन गर्न सक्ने हुनुपर्छ’, ज्ञवालीले मापदण्ड उल्लेख गर्दै भने, ‘स्वार्थ बाझिने मान्छे नजाओस्।’
राजदूत नियुक्त भएकाहरुलाई एक साताको तालिम दिने ‘कन्ट्री’ प्रोफाइल तयार गरेर पठाउन सुरू गरिएको उनले बताए। ‘एक हप्ताको कोर्सहरू गराइरहेका छौं’, उनले भने, ‘बुढेसकालमा बिहान ८ बजे देखि ५ सम्म पढ्नुपर्यो भनेर कतिपयले भन्नुभयो। हामी सकेसम्म व्यवस्थित बनाउने प्रयसामा छौं।’
उनले राजदूत नियुक्तीमा समावेशिता पुर्याउन नसकिएको स्वीकार गरे।
‘समावेशिता हुनुपर्छ भन्नेमा सहमति छु’, ज्ञवालीले भने, ‘राजदूत नियुक्तीले देशको तस्बिर झल्काउनुपर्छ। समाज कम्युटरको हार्डडिस्क हो भने स्क्रिन राज्यको संरचना।’
उनले आफूले परराष्ट्र सेवामा रहेका महिलाहरूलाई विश्व व्यापार संगठन र जेनेभा पठाएर भविष्यमा राजदूतका लागि तयार पारिरहेको बताए।
बैठकमा एक सांसदले अन्य सेवाका महिलालाई राजदूत बनाएर पठाउन सुझाएका थिए। तर ज्ञवालीले परराष्ट्र बाहेक अन्य सेवाका व्यक्तिले मान्यता नपाउने गरेको उदाहरण दिए। ‘हामीले श्रमिक जाने देशमा लेबर एट्याची पठाएका छौं’, ज्ञवालीले भने, ‘तर उनीहरुले कुटनीतिज्ञको मान्यत दिदैँनन्।’