झन्डै २ साताअघि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वक्तव्य जारी गर्दै अमेरिकाको कडा आलोचना गरेपछि नेपाली राजनीतिक वृत्तमा दक्षिण अमेरिकी मुलुक भेनेजुयाला पसेको छ।
दाहालकै वक्तव्यसँग मिल्ने गरी आएको भेनेजुयलाबारे सरकारको धारणा, त्यसले नेपाल-अमेरिका सम्बन्धमा देखिएको तनाव र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी दाहालको वक्तव्यमा अडिग रहेको सन्दर्भमा आमनागरिकमा पनि सात समुद्रपारिको भेनेजुयलाबारे चासो बढेको छ।
भेनेजुयलामा भएको के हो र कुनै बेला दक्षिण अमेरिकाकै धनी राष्ट्र भेनेजुयलाका जनता किन भोकमरीसँग जुझ्न बाध्य छन्?
यसको उत्तर सरल छैन, एकदमै जटिल छ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका विवरणहरूका आधारमा हामीले केही बुँदाहरू तयार पारेका छौं।
दुई अण्डामात्र किन्न पुग्ने तलब
अचेल राजधानी काराकासका सडकमा हातभरी पैसाको मुठो बोकेर मानिसहरू सामान किन्न लाइन लागेका हुन्छन्। उनीहरूलाई गाडीमा ल्याएका सामान सकिएला र नपाउँला भन्ने पीर हुन्छ किनकी सडक छेउका अधिकांश पसलहरू बन्द छन्।
मडुरोले मासिक न्युनतम तलब ३५० डलरबाट ७ डलरमा झारे। २०१८ मा मुद्रास्फिर्ति १७ लाख प्रतिशत पुग्यो। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार यो वर्ष १ करोड प्रतिशत पुग्ने छ।
दैनिक न्यूनतम तलबले दुई वटा अण्डा पनि किन्न सकिन्न। त्यसमाथि ३४ प्रतिशत भेनेजुयलाका नागरिक बेरोजगार छन्।
भेनेजुयलामा खानेकुराको मात्र अभाव छैन अस्पतालमा औषधी पनि पाइन्न। ७५ प्रतिशत अस्पताल मडुरोको शासनकालमा बन्द भएका छन्।
चलिरहेकामध्ये ८८ प्रतिशत अस्पतालमा आवश्यक उपकरण र औषधी छैन। सन् २०१५ यता २२ हजार डाक्टरले देश छोडेका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार २०१६ भन्दा २०१७ मा भेनेजुयलामा मलेरियाका बिरामी ६९ प्रतिशतले बढेका थिए।
विदेशमा रहेका आफन्तले औषधी पठाए पनि सरकारले विमानस्थलबाट जफत गरिदिन्छ।
भेनेजुयलाका झन्डै तीन लाख बालबालिका कुपोषणका कारण ज्यान गुमाउने संघारमा छन्।
भेनेजुयलामा जन्मेको बच्चाभन्दा सिरियामा जन्मेको बच्चाको बाँच्ने सम्भावना ज्यादा छ।
१० प्रतिशत जनसंख्या शरणार्थी बनेर बाहिरियो
एक अध्ययनले ९० प्रतिशत भेनेजुयलावासी गरिबीको रेखामूनि देखाएको छ। देशमा खानेकुरा नपाइने भएपछि उनीहरू शरणार्थी बनेर छिमेकी मुलुक कोलम्बियालगायत देश गएका छन्।
संयुक्त राष्ट्र संघका अनुसार देशको कुल जनसंख्या ३ करोड २० लाखमध्ये ५० लाख भेनेजुयलावासी शरणार्थी बनेर गएका छन्। जुन दर सिरियाली शरणार्थीको बराबर हो।
भेनेजुयला-अमेरिका सम्बन्धको केन्द्रमा तेल
अमेरिका र भेनेजुयलाको सम्बन्ध दशकौं पुरानो हो।
सन् २०१४ मा गरिएको एक सर्वेक्षणले ६२ प्रतिशत भेनेजुयलाबासीहरू अमेरिकाका पक्षमा थिए भने ३१ प्रतिशत विपक्षमा।
यी दुई देशको राजनीतिक नेतृत्वबीच भने पछिल्लो डेढ दशकयता तिक्ततापूर्ण सम्बन्ध छ।
सन् १९६१ मा राष्ट्रपति जोन एफ केनडीले भेनेजुयलाको औपचारिक भ्रमण गरे। भेनेजुयला भ्रमण गर्ने उनी पहिलो अमेरिकी राष्ट्रपति हुन्।
अमेरिका र भेनेजुयलाको सम्बन्ध चाहे बिग्रियोस् वा सुमधुर होस् त्यसको केन्द्रमा तेल छ।
भेनेजुयलामा सन् १९२२ मा तेल पत्ता लागेको थियो। सन् १९४० मा भेनेजुयला कच्चा तेल उत्पादन गर्ने संसारको तेस्रो मुलुक बनेको थियो।
तेल प्रशोधनमा सुरूदेखि नै अमेरिकी कम्पनीहरू संलग्न थिए। अमेरिकाले नै भेनेजुयलाको सबैभन्दा धेरै तेल किन्थ्यो।
शितयुद्ध, तेल र व्यापारले अमेरिका र भेनेजुयलाको सम्बन्ध मित्रवत् बनाइराख्यो।
शित युद्धको उत्कर्ष मानिएको सन् १९६२ को क्युबा मिसाइल संकटमा भेनेजुयलाले अमेरिकालाई साथ दिएको थियो।
तेलका कारणले सन् १९६० र ७० दशकमा भेनेजुयलालाई ठूलो चिठ्ठा पाएजस्तो भयो।
हजारौं अमेरिकीहरूले आफ्नो परिवारनै लिएर तेलखानीमा काम गर्न र व्यापार गर्न भेनेजुयला बसाइ सरे। आफूसँगै उनीहरूले अमेरिकी खाना, संस्कृति र फेसन पनि भेनेजुयला पुर्याए।
भेनेजुयला अमेरिकामा निर्भर देश त बन्यो तर सबैजनालाई अमेरिका मन पर्दैनथ्यो। एउटा ठूलो जमात शक्तिशाली राष्ट्रको प्रभाव रुचाउँदैनथ्यो।
तेलको अर्थतन्त्र ठूलो हुँदै गए पनि समाजको ठूलो हिस्सा गरिबीमै रह्यो।
अमेरिकीसमर्थक राजनीतिक समूह भने धनी हुँदै गयो। त्यसपछि सडकमा प्रदर्शन हुन थाले। यो क्रम सन् १९९८ सम्म जारी रह्यो जब ह्युगो चाभेज भेनेजुयलाका राष्ट्रपति बने। उनी राष्ट्रपतीय निर्वाचनमा अत्याधिक बहुमतले विजयी बनेका थिए।
वासिङटनले सावधानीपूर्वक नयाँ नेतालाई स्वागत गर्यो। र पर्ख र हेरको नीति अँगाल्यो।
समाजवादी झुकाव भए पनि चाभेज सुरूमा अमेरिकाविरोधी थिएनन्।
सन् २००२मा भएको चाभेजविरूद्धको सैनिक कूले सबैकुरा परिवर्तन गरिदियो।
त्यो कूका पछाडि अमेरिकाको हात रहेको चाभेजले बुझे। त्यसका केही प्रमाण पनि भेटिए।
अमेरिकासँग सम्बन्ध बिगार्नमा चाभेजका लागि तिनै प्रमाण पर्याप्त थिए। सन् २००७ मा ओरिनिको डेल्टाको तेलखानीहरू सरकारले नियन्त्रणमा लियो। त्यसपछि दुई अमेरिकी तेल कम्पनीलाई कब्जा गरेर तेल खानी राष्ट्रियकरण गर्यो।
संयुक्त राष्ट्रसंघमा अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले सम्बोधन गरेको अर्को दिन चाभेजले भने- हिजो एक राक्षस यहाँ आएको थियो। र आज पनि सल्फरको गन्ध आइरहेको छ।
चाभेजले बुसपछि राष्ट्रपति बनेका बाराक ओबामाको पनि आलोचना गरिरहे- ओबामा तिमी ढोंगी हौ।
वाकयुद्ध र अमेरिका विरोधीसँग चाभेजको मित्रताका बावजुद् दुई देशको तेल व्यापार जारी थियो। जुन अहिलेसम्म पनि छ।
क्यान्सरपीडित चाभेजको सन् २०१३ मा मृत्यु भएपछि निकोलस मडुरोले सत्ता सम्हाले।
अमेरिकाले मडुरोलाई भेनेजुयलाका नागरिकलाई भोकमरीमा पार्ने मुद्रा स्फिर्ति र हत्या दर बढाउने र भेनेजुयलालाई राजनीतिक रूपमा बाँकी विश्वबाट अलग्याउने तानाशाही शासकका रूपमा हेर्यो।
अमेरिकाले मडुरो र उनको सरकारमाथि प्रतिबन्ध लगायो।
१५ दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाका राष्ट्रिय सभाका नेता हुवान गुवाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछि पछिल्लो संकट सुरू भएको हो। ट्रम्पको कदमको जवाफमा मडुरोले अमेरिकासँगको कूटनीतिक सम्बन्ध तोडिदिए।
गत मेमा भएको चुनावमा मडुरोले धाँधली गरेर जितेकाले उनको वैधानिकता नभएको र राष्ट्रपति खाली हुँदा राष्ट्रिय सभाका नेताले अन्तरिम राष्ट्रपति भई काम चलाउनु पर्ने संवैधानिक व्यवस्थाअनुसार गुवाइदोले आफू राष्ट्रपति भएको तर्क गरेका छन्।
संसारकै सबैभन्दा बढी तेल भएको देशको पैसा कहाँ जान्छ त?
सूचांकअनुसार भेनेजुयला संसारका सबैभन्दा बढी भ्रष्टचार हुने १० मुलुकभित्र पर्छ।
भेनेजुयलालाई २०० अर्ब डलर विदेशी ऋण छ।
४ महिनाअघि मडुरो बेइजिङ आएका थिए। चीनले झन्डै ६० अर्ब डलर भेनेजुयलामा लगानी गरेको छ। अझै उसले २०देखि ३० अर्ब डलर चीनलाई तिर्न बाँकी छ।
चीन र रूससँग लिएको ऋण भेनेजुयलाले तलेबाट तिर्दै आएको छ अर्थात् रूस र चीनलाई दिइने तेलबाट उसले नगद पाउँदैन।
मडुरो राष्ट्रपति बनेको अर्को वर्षदेखि तेलको भाउ स्वाट्टै घट्न थाल्यो। सन् २०१२मा प्रतिब्यारेल ११० अमेरिकी डलर पुगेको तेलको भाउ २०१६ मा आइपुग्दा ४०मा झर्यो।
लोकप्रिय चाभेजको उत्तराधिकारीका रूपमा रहेका मडुरोले तेलको भाउ घटे पनि समाजवादी राज्य बनाउन गरिएको खर्चलाई निरन्तरता दिइरहे।
मडुरो आएपछिको खराब व्यवस्थापनले भेनेजुयलाको तेल उत्पादन पनि निरन्तर घट्दै गएको छ। सन् २०१६ मा दैनिक उत्पादन २३ लाख ब्यारेल रहेको अहिले लगभग १० लाख ब्यारेलमा झरेको बताइन्छ।
मडुरोको किन विरोध भइरहेको छ?
केही समयअघि भएको एउटा सर्वेक्षणका अनुसार ८० प्रतिशत भेनेजुयलावासी मडुरो सरकारका विपक्षमा छन्।
त्यसको संकेत सडकमा पनि देखिन्छ। सन् २०१४ यता मडुरोविरूद्ध निरन्तर प्रदर्शन भइरहेका छन् र जसमा हजारौं मानिस सहभागी हुन्छन्।
अहिले भेनेजुयलामा भइरहेको राजनीतिक संकट समाजवादी र पुँजीवादीबीचको लडाइँ होइन। यो त बहुसंख्यक भेनेजुयलावासीले असक्षम र तानाशाही शासकलाई हटाउने प्रजातान्त्रिक प्रक्रिया हो।
भेनेजुयलावासी निष्पक्ष प्रजातान्त्रिक चुनाव मागिरहेका छन्।
चाभेजको मृत्युपछि मडुरो कार्यवाहक राष्ट्रपति बने।
संविधानअनुसार कार्यवाहक राष्ट्रपति राष्ट्रपतिको चुनाव लड्न पाउँदैनन्। सन् २०१५ अप्रिलमा भएको चुनावमा उनी उम्मेदवार बने। मडुरोले चुनाव जिते।
चुनावपछि उनले सर्वोच्च अदालतमा नयाँ न्यायाधीश नियुक्त गरे। राष्ट्रिय सभाले पारित गरेका हरेक कानुन सर्वोच्चले असंवैधानिक र आर्थिक रूपले असम्भव भन्दै लागू हुन दिएन।
पछि सबै अधिकार सर्वोच्च अदालतले लिने निर्णय गरे।
मे २०१७ मा उनले संविधान सभा बनाउने घोषणा गरे। त्यसलाई पछि उनले संसद बनाए।
मडुरोको व्यापक विरोध भएर प्रतिपक्षीले जनमत संग्रहको माग गरेपछि मडुरोले फेरि राष्ट्रपतिको निर्वाचन गर्ने बताए।
मे २०१८ मा राष्ट्रपतीय निर्वाचन भयो। यो चुनावका बेला लोकप्रिय विपक्षीहरू कि जेलमा थिए कि निर्वासन वा उनीहरूलाई चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो।
विपक्षीलाई सहभागी हुनै नसकिने गरी गरिएको चुनावमा २० प्रतिशत मतदान भएको थियो।
ती पनि सरकारी कर्मचारी थिए जसलाई मत खसाल्न सरकारले तर्साएको भनिन्छ।
यो चुनावलाई भेनेजुयलावासीले मात्र होइन अन्तर्राष्ट्रिय समुदायले पनि अवैधानिक भनेका थिए।
अमेरिकी राष्ट्रहरूको संगठन (अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स) सहित ५३ वटा देशले उक्त चुनावमा धाँधली भएको बताएको थियो।
सन् २०१९ जनवरी १० मै त्यो संगठनले मडुरोको सत्तारोहण अवैधानिक भएको बताएको थियो।
भेनेजुयलामा मिडियामाथि सेन्सर छ। सरकारको विरोधमा लेख्नेलाई जेल हालिन्छ।
२०१४ यता सरकारविरूद्ध बोलेको कसुरमा ५ हजार बढीलाई हिरासतमा राखिएको छ।
सन् २०१८ मा काराकास सिटी काउन्सिलका सदस्य मडुरो सरकारको असफलताबारे राष्ट्रसंघमा बोल्न अमेरिका आएका थिए। फर्किँदा उनलाई विमानस्थलबाटै पक्राउ गरियो। तीन दिनपछि उनको हिरासतमै मृत्यु भयो।
अहिले मडुरोको विपक्षमा अमेरिकामात्र उभिएको छैन। अर्जेन्टिना, ब्राजिल, कोलोम्बिया, कोस्टारिका, इक्वेडर, जर्मनी, अल्बानिया, क्यानडा, अष्ट्रेलिया, पाराग्वे, पेरू, स्पेन, इटाली, बेलायत, फ्रान्सलगायत देशहरू छन् भने रूस, चीन, सिरिया, टर्की,क्युबा लगायत मुलुकले मडुरोलाई साथ दिएका छन्।
गुवाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछि अमेरिकाले भेनेजुयलाबाट तेल ल्याएवापतको पैसा मडुरो सरकारलाई नदिएर गुवाइदो सरकारले चलाउन मिल्ने गरी खातामा राखिदिएको छ।
भेनेजुयलाले बेच्ने ४० प्रतिशत तेल किनिरहेको र नगदमा कारोबार गर्ने अमेरिकाको यस्तो कदमपछि चालेपछि मडुरो सरकारले विदेशमा भएको सुन बेच्ने बताएको छ। स्वेदशमा उनीविरूद्ध प्रदर्शन बढ्दै गएपछि भेनेजुयलाले सुन राखेका विदेशी बैंकले पनि सुन बेच्न दिने/नदिने टुंगो छैन।
यति चरम अवस्थामा पुग्दा पनि मडुरोले सत्ता छाड्ने छाँटकाँट देखाएका छैनन्। बरू बिबिसीसँगको अन्तर्वार्तामा उनले भेनेजुयला गृहयुद्ध हुने चेतावनी दिएका छन्।
उनले अन्तर्राष्ट्रिय सहयोग पनि नकारेका छन्। मडुरोले भनेका छन्- अन्तर्राष्ट्रिय सहयोग लिने हामी भिखारी होइनौं।