नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नै अभिव्यक्तिका कारण उनको विश्वसनीयता घट्दै गाएको आरोप लगाएका छन्।
उनले अब प्रधानमन्त्रीको ‘कुन जोक आउला’ भनेर जनता पर्खनुपर्ने अवस्था सिर्जना भएको बताएका छन्। ‘निकै हल्का ढंगले आउने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि विश्वास घट्दै गएको छ,’ नेपाल प्रेस युनियन विराटनगरले आइतबार आयोजना गरेको बहस शृंखलामा अर्यालले भने।
रेल, पानी जहाजजस्ता विषयलाई चाहिनेभन्दा बढी उचालेर प्रधानमन्त्रीले प्रतिपक्षी दलबारे दिने अभिव्यक्तिले आफ्नै विश्वास घटाइरहेको बताए।
‘अहिलेका गतिविधि हेर्दा सरकार विकासको उल्टो गतिमा अघि बढेको पाइन्छ,’ अर्यालले भने, ‘चुनावका बेला भएका साना गल्तीले कांग्रेस प्रतिपक्षमा पुगेको हो तर यो भन्दैमा सम्पूर्ण रुपमा कांग्रेस सकिएको होइन।’
अर्यालले महासमिति बैठकपछि कांग्रेसको विधान संशोधन भई अब पार्टी संघीय स्वरुपमा जाँदा थप लोकतान्कि बन्न पुगेको बताए। धेरै पदाधिकारी निर्वाचित भएर आउनु पर्ने व्यवस्थाका कारण पनि कांग्रेस अब नयाँ ढंगले अघि बढ्ने बताउँदै अर्यालले पार्टीभित्र सानातिना विवाद भए पनि यो क्रमशः समाधान हुँदै जाने दाबी गरे।
उनले भने, ‘कांग्रेस झन् धेरै समावेशी भएको छ।’