प्रधानमन्त्री के पी शर्मा ओलीले नेपालले संसारमै दुर्लभ सुपर कम्प्यूटर निर्माण गरेको बताएका छन्।
नेपाल टेलिभिजनको ३५ औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल टेलिभिजनका चार च्यानलको एचडी प्रविधि रूपान्तरणको विशेष समारोहमा बोल्दै प्रम ओलीले सो कुरा बताएका हुन्।
उनले स्वीस वैज्ञानिकहरूसँगको सहकार्यमा सुपर कम्प्यूटरको निर्माण गरेको जानकारी दिए।
'नेपालमा दुनियाँमै दुर्लभ सुपर कम्प्यूटर निर्माण भएको छ। केही नेपाली वैज्ञानिक र केही स्वीजरल्याण्डका वैज्ञानिक मिलेर सुपर कम्प्यूटर निर्माण भएको हो। अब केही समयभित्र थप सुपर कम्प्यूटर निर्माण गरेर डाटा राख्ने, डाटा प्रेसेसिङका कुरा डिजिटल नेपाल, इ-गभरनेन्स, पेपरलेस अफिसेज आदिबाट डिजिटल नेपालको दिशामा जाने कुरामा आइसिटि र अरू विभिन्न माध्यमहरूमा लगातार विकास गर्दै जानेछौं', प्रम ओलीले भने।
त्यस्तै प्रम ओलीले आज दुनियाँमा खोज अनुसन्धान गरिएका सबभन्दा आधुनिक प्रविधिहरू नेपालमा ल्याएर नेपाल र नेपालीको सुविधाका लागि प्रयोग गर्ने र नेपालको विकासलाई तीव्रता दिँदैं अगाडि बढ्ने र त्यसमा नेपाल पछि पर्न नसक्ने बताए।
अगाडि बोल्दै ओलीले नेपालको समृद्धिको यात्राका लागि नेपाल हरेक दिन एक पाइला अगाडि बढिरहेको बताउँदै नयाँ र पछिल्लो प्रविधिलाई नेपाल भित्र्याउने योजना अन्तरगत यस्ता काम भइरहेको पनि बताए।