प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैले पनि अधिकारका लागि शहीद हुनुनपर्ने बताएका छन्।
शहीद सप्ताहको अन्तिम दिन आज काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
‘हिजो राज्यले जनता र सेना प्रहरीलाई आपसमा भिडाएर मारामारको स्थिति सृजना गर्थ्यो। अब त्यस्तो अवस्था छैन’, प्रधानमन्त्री ओलीले भने, ‘अब त्यस्तो अवस्था छैन। हामीले अधिकारका लागि लडिने लडाईं पूरा गरेका छौं। अधिकारका लागि फेरी आन्दोलन गरेर कसैले अब शहीद हुनु पर्दैन।’
प्रधानमन्त्री ओलीले देशमा संघीय लोकतन्त्रको स्थापना भएपछि अधिकारको समानता भएको उल्लेख गरे।
‘हामीले अधिकारमा समानता हासिल गरिसकेका छौं’, प्रधानमन्त्री ओलीले भने,‘अब अवस्थामा पनि समानता स्थापित गर्ने चरणमा हामी छौं।’
सुशासन र आर्थिक विकासमार्फत् देशमा समानता कायम गरिने प्रधानमन्त्री ओलीको भनाइ छ।
प्रधानमन्त्री ओलीले प्रकृतिले धनी बनाएको देशलाई मानिसले गरिब बनाउन नसुहाउने बताए।
‘नेपाललाई प्राकृतिले सम्पन्न र धनी देश बनाएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘मानिले यस देशलाई गरिब बनाउनु हुँदैन । यी स्रोत र साधनको प्रयोग गरेर थप समृद्ध बनाउनु पर्दछ।’
प्रधानमन्त्री ओलीले सबैलाई लोभ,लालच र भ्रष्टाचार त्याग्न आग्रह गरेका छन्।
‘आज शहीद दिवसको दिन। आजै संकल्प गरौं अब कसैले पनि भ्रष्टाचार नगरौं। देशको सबभन्दा ठूलो समस्या भ्रष्टाचार हो। यसबाट देशलाई मुक्त गरौं।’
सरकार देश र जनताप्रति निष्ठावान् भएकोले आग्रह पूर्वाग्रहविना काम गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले कार्यक्रममा लैनचौरस्थित शहीद स्मारकमा माल्यर्पण गरेका छन्।
जहाँनियाँ राणा शासनको विरोधमा स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो। उनीहरूको सम्मानमा शहीद दिवस मनाइँदै आएको छ।
प्रदेश नं ३ सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।