नेपाल चिकित्सक संघले डाक्टर गोविन्द केसीको जीवनरक्षाका लागि यसअघि सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम जारी रहेको जनाएको छ।
डाक्टर केसीको जीवनरक्षाका लागि ठोस कदम नचाले सरकारविरूद्ध थप आन्दोलन कार्यक्रम गर्ने संघले जनाएको छ।
सत्र दिनदेखि अनसरत डा. केसीको जीवनरक्षामा सरकार उदासीन रहेको भन्दै संघले जारी आन्दोलनलाई दिएको समर्थन फिर्ता नलिने बताएको छ।
सरकारले आफूसँग गरेको सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक पास गर्न माग गर्दै डा. केसी १६ औं अनसन बसिरहेका छन्। संसदले भने सम्झौताविपरीतका प्रावधान राखेर बनाइएको विधेयक शुक्रबार पास गरेको छ।
संसदले विधेयक पास गरे पनि डाक्टर केसीले अनसन जारी राख्ने बताएका छन्। उनले अनसन जारी राखे आफूहरूले पनि उनको समर्थन गर्ने संघका महासचिव मुक्तिराम श्रेष्ठले बताए।
'हामीले त डाक्टर केसीको समर्थन गर्दै उहाँले राखेका माग पूरा गरी जीवनरक्षा गर्न सरकारलाई अल्टिमेटम दिएका हौं। उहाँले अनसन तोडे अल्टिमेटम फिर्ता हुन्छ नभए हुन्न,' उनले भने, 'डाक्टर केसीले अनसन जारी राख्ने निर्णय गर्नुभयो भने हामीले उहाँको समर्थन गर्दै सरकारविरूद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्छौं।'
बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत् संघले सरकारलाई डाक्टर केसीको जीवनरक्षा गर्न माग गरेको थियो।
संघले विज्ञप्तिमार्फत त्रिवि शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगायत देशभरका मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूले घोषणा गरेको आन्दोलनलाई पूर्ण समर्थन गर्ने घोषणा गरेको थियो।
उक्त समर्थन अहिले पनि जारी रहेको संघका महासचिव श्रेष्ठले बताए। उनका अनुसार, सरकारले केसीको जीवनरक्षाका लागि ठोस कदम अगाडि बढाएन भने संघले उपत्यकाका डाक्टरहरूको भेला गरी थप आन्दोलन कार्यक्रम घोषणा गर्नेछ।