आफूसँग भएको सहमतिअनुसारका व्यवस्था चिकित्सा शिक्षा विधेयकमा राख्नु पर्ने लगायतका माग राख्दै अनसन बसेका डाक्टर गोविन्द केसीले प्रतिनिधि सभाका सदस्यलाई जनतामुखी ऐन बनाउन अनुरोध गरेका छन्।
मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालको वार्डबाट अनसनस्थल सर्नुअघि भिडियो सन्देशमार्फत् डा केसीले विधेयकमा जनतामुखी व्यवस्था हटाएर माफियामुखी व्यवस्था राखिएको बताएका हुन्।
‘चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत हुन लागेको जानकारी आएको छ। समितिबाट विधेयकमा जनतामुखी र विद्यार्थीमुखी व्यवस्था हटाएर माफियामुखी व्यवस्था राखिएको छ,’ केसीले भनेका छन्, ‘हामीसँग भएको सहमतिअनुसार माननीयज्यूहरूले जनतामुखी ऐन ल्याउनुहुनेछ भन्ने आशा राखेको छु र त्यसका लागि अनुरोध गर्दछु।’
स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएपछि डाक्टर केसीलाई मंगलबार बिहान वार्डबाट अनसन स्थलमा सारिएको केसी समूहका सदस्य अभिषेकराज सिंहले जानकारी दिए।
चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको प्रतिनिधि सभा बैठक अपरान्ह तीन बजे बस्दैछ।
हिजोको बैठकमा नै विधेयक पारित गर्ने कार्यूसूची रहे पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधले बैठक बस्न सकेको थिएन।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिपक्षीलाई पेलेरै विधेयक पारित गर्ने तयारी गरेको छ।