चिकित्सा शिक्षा विधेयकमा आफूसँग भएको सहमतिअनुसार व्यवस्था हुनुपर्ने लगायत माग राखेर १२ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले आफूलाई अस्पतालको आइसियूबाट निकाल्न अनुरोध गरेका छन्।
पुस २५ देखि इलाममा अनसन बसेका डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि शुक्रबार बिहान हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। उनलाई त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना गरिएको छ।
उनले आफूलाई सधैं अनसन बस्ने ठाउँमा सार्न अनुरोध गरेको चिकित्सकहरूले बताएका छन्। डा. केसीको स्वास्थ्यमा पहिलेभन्दा सुधार आएको भए पनि अनसनस्थलमा सार्दा फेरि संक्रमणको डर भएकाले वार्डमा सार्ने तयारी छ।
शिक्षण अस्पतालका निर्देशक डाक्टर प्रेमकृष्ण खड्काले केसीको स्वास्थ्यमा क्रमिक सुधार आएको जानकारी दिए। ‘हिजोभन्दा स्वास्थ्यमा सुधार आएको छ,’ खड्काले सेतोपाटीसँग भने।
अस्पतालका क्रिटिकल केयर स्पेसियलिस्टसमेत रहेका डाक्टर सुवास आचार्य नेतृत्वको चिकित्सक समूहले डा. केसीको स्वास्थ्यको चेकजाँच गरिरहेको खड्काले जानकारी दिए।
‘बिहान गरेको जाँचको रिपोर्टअनुसार डाक्टर केसीको अवस्था सुधार हुँदै गएको छ। पछिल्लो रिपोर्ट केहीबेरमा अस्पतालको नोटिस बोर्डमा टाँस्छौं,’ उनले भने। आइसियुमा उपचाररत केसीले आमरण अनसनलाई निरन्तरता दिइरहेका छन्। इलाममा अनसनमा रहँदा डाक्टर केसीको स्वास्थ्य बिग्रेको थियो।
उनको छातीमा देखिएको संक्रमणलाई नियन्त्रणमा ल्याउन एन्टिबायोटिक पनि चलाइएको थियो। चिकित्सकहरूका अनुसार डाक्टर केसीको रक्तचाप न्युन छ भने रगतमा अक्सिजनको मात्रा कम भएकाले अक्सिजन दिनुपरेको छ।