राष्ट्रिय योजना आयोगका दुई जना पूर्वउपाध्यक्षले अनसनरत डाक्टर गोविन्द केसीसँग औपचारिक वार्ता सुरू गर्न अनुरोध गरेका छन्।
पूर्वउपाध्यक्षहरू गोविन्दराज पोखरेल र स्वर्णिम वाग्लेले आइतबार अपिल जारी गरी यथाशीघ्र उच्चस्तरीय टोली गठन गरी केसीसँग वार्ता गर्न सरकारसँग अनुरोध गरेका हुन्।
पोखरेल र वाग्लेले डा केसीको लडाइँ अनुचित निजी स्वार्थका विरूद्ध भएको र उनको संघर्ष नेपाली जनताको पक्षमा रहेको बताएका छन्।
‘सहभागितामूलक लोकतन्त्रमा सरकारले नागरिकका आन्दोलन र विरोधलाई वार्तामार्फत नै हल गर्नुपर्छ भन्ने हाम्रो मत छ,’ अपिलमा भनिएको छ, ‘विगतमा जटिल प्रकृतिका मागहरू पनि वार्ताकै माध्यमबाट सम्बोधन गरिएको र अग्रगामी सुधारको एजेन्डा तय हुन सकेको नजिर हाम्रासामू छ।’
संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकमा आफूसँगको सहमतिअनुरूपका व्यवस्था हुनु पर्नेलगायत माग राख्दै डाक्टर केसी १२ औं दिनदेखि अनसनमा छन्।