सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश सच्याउन माग राख्दै ११ दिनदेखि आन्दोलनरत हेल्थ असिस्टेन्ट संघ (हान) ले आन्दोलनका कार्यक्रम फिर्ता लिँदै आइतबारदेखि काममा फर्कने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हानले उठाएका माग सम्बोधन गर्न तयार भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हानले जनाएको छ। मन्त्रालयले गठन गरेको वार्ता समूह र हानका पदाधिकारीबीच छ बुँदे सहमति भएको हो।
कर्मचारी समयोजन व्यवस्थापन गर्दा नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को अनुसूची ७ अनुसार योग्यतालाई आधार मान्ने, सेवाको तहगत प्रणाली वैज्ञानिक बनाउन पहल गर्ने, समायोजन गर्दा शैक्षिक योग्यताका आधारमा एक तह वृद्धि गर्न पहल गर्नेलगायतका सहमति भएको हानका केन्द्रीय सदस्य उदय महतोले बताए।
उच्च शिक्षा अध्ययनका लागि कोटासहित छात्रवृत्तिको व्यवस्था गर्न संघीय निजामती ऐनमा समावेश गर्ने बुँदामा पनि सहमति भएको हो। मन्त्रालयका तर्फबाट वार्ता टोलीका संयोजक तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक गुणराज लोहनी, सहसचिव जनार्दन गुरागाईं, जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठ र हानका तर्फबाट उदय महतो, प्रकाश परियार, रवीन्द्रकुमार साह र मेघनाथ चापागाईंले हस्ताक्षर गरेका छन्।
हानले धर्ना दिएपछि स्वास्थ्य मन्त्रालयको मुलगेटमा प्रहरी परिचालन गरिएको थियो। हानले माइतिघर मण्डलामा पनि धर्नाका कार्यक्रम गरेको थियो।