प्रधानमन्त्री केपी शर्मा ओली आगामी मंगलबारदेखि स्विजरल्याण्डमा सूरु हुने विश्व आर्थिक मंचको बैठकमा सहभागी हुने भएका छन्।
प्रधानमन्त्री ओलीले संघीय संसदको प्रतिनिधिसभाको शुक्रबारको बैठकमा स्विजरल्याण्डको ढाओस सहरमा मंगलबारदेखि आयोजना हुने ४ दिने विश्व आर्थिक मंचको बैठकमा आफू नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुने औंपचारिक जानकारी संघीय संसदलाई गराए।
विश्वकै विकास र लगानीसम्बन्धी उच्चस्तरीय सो मञ्चको बैठकमा नेपालले पहिलो पटक सहभागी हुने अवसर प्राप्त गरेको हो। नेपालले द्वन्द्व व्यवस्थापनसहितका राजनीतिक तथा सामाजिक परिवर्तनमा उल्लेख्य प्रगति गरेपछि विश्व आर्थिक मञ्चले पनि नेपालको महत्वलाई बुझेर सो बैठकमा निमन्त्रणा गरेको पनि प्रधानमन्त्री ओलीले स्पष्ट पारे।
बैठकको पहिलो दिन प्रधानमन्त्री ओलीले ‘स्ट्राटिजिक आउटलुक अफ साउथ एशीया’ सम्बन्धि विषयमा विचार प्रस्तुत गर्नेछन्।
प्रधानमन्त्री ओलीले बैठकले दोस्रो दिन बुधबार ‘प्रजातन्त्रको भविष्य’ विषयमा पनि आफूले आफ्नो विचार प्रस्तुत गर्ने जानकारी पनि संसदलाई गराए।
उनले तेस्रो दिन बिहीबारको बैठकमा आफूले ‘जी ट्वान्टी’ का शक्तिशाली राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुसँग औपचारिक/अनौपचारिक छलफल गर्ने कार्यक्रम रहेको पनि बताए।
प्रधानमन्त्री ओलीले सो बैठकबाट नेपालले विश्वका शक्तिशाली राष्ट्रहरुलाई नेपालप्रति आकर्षित गर्ने विश्वास पनि व्यक्त गरे। उनले आफू नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको सो भ्रमणले नेपालको प्रतिष्ठालाई अझै उचाईमा पुर्याउने विश्वास पनि व्यक्त गरे।
प्रधानमन्त्री ओलीले आफ्नो सो भ्रमणबाट नेपालको लगानीमा थप सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे।
प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सो भ्रमणका लागि आगामी आईतबार ६ गते साँझ स्विजरल्याण्डतर्फ प्रस्थान गर्नेछ भने आगामी माघ १२ गते शनिबार साँझ स्वदेश फर्कनेछ।