सरकारले गत पुस २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ।
बिहिबार सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलन गरी निर्णयहरू सार्वजनिक गरेका हुन्।
यी हुन् निर्णयहरू :
१. मन्त्रीहरूको तलब र अन्य सेवा, सुविधा वापत भुक्तानी हुने रकमको व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।
२. प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरिएको छ ।
३. लगानी सम्मेलन, २०१९ गर्न आवश्यक बजेटको व्यवस्था गर्ने निर्णय गरिएको छ ।
४. कर्मचारी सञ्चय कोषको अध्यक्ष पदमा शिशिरकुमार ढुंगानालाई नियुक्त गरिएको छ ।
५ Implementation Agreement of China Aid on Oil and Gas Resources Survey Project in Nepal स्वीकृत गरिएको छ ।
६. प्रहरी (छैठौँ संशोधन) नियमावली, २०७५ स्वीकृत गरिएको छ ।
७. विरेन्द्रनगर नगरपालिकामा शीतभण्डार निर्माणका लागि विनियोजित रु. ५० लाख Line Ministry Budget Information System (LMBIS) मा प्रविष्टि गर्ने निर्णय गरिएको छ ।
८. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जी टु जी प्रक्रिया अबलम्बन गरी रेल गाडी खरिद कार्य अघि बढाउन सैद्धान्तिक सहमति दिइएको छ ।
९. जनशक्ति क्षमता विकास प्रतिष्ठानसम्बन्धी विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।
१०. प्रदेश स्वास्थ्य निर्देशनालय लगायतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज संशोधन गर्ने निर्णय गरिएको छ ।
११. नेपाल पानीजाहाज कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरिएको छ ।
१२. आन्तरिक शान्ति र व्यवस्था कायम गर्ने सम्बन्धमा बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिइएको छ ।
१३. ‘राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरूको मर्यादाक्रम’ स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ ।