सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले अनशनरत डाक्टर गोविन्द केसीको माग बुझ्न नसकिएको बताएका छन्।
सरकारको नियमित पत्रकार सम्मेलनमा बाँस्कोटाले भने, ‘उहाँले उठाएका धेरै मागहरू स्वीकृत भैसकेका छन्। के देखिन्छ भने कहिले जुम्ला कहिले इलाम। चाहियो पनि भन्नुहुन्छ। दिन पनि हुँदैन भन्नुहुन्छ। त्यो अलिक बुझ्न सकिएन।’
डाक्टर केसीले अघिल्लो पटक १५ औं अनशन जुम्लाबाट सुरू गरेका थिए भने हाल केसी इलाममा पुगेर १६ औं अनशनमा छन्।
‘केसीको सन्दर्भमा सबै माग पूरा भए जस्तो लाग्छ। उहाँले चिकित्सा शास्त्रलाई सुधार गर्ने विषयमा जे कुरा उठाउनुभयो। संसदका समितिहरूले निर्णय दिइसकेका छन्। उहाँका मागहरू सम्बोधन भएका छन्’, बाँस्कोटाले भने।
उनले केसीलाई ‘के माग सम्बोधन भएन र' भन्दै प्रतिप्रश्न समेत गरेका छन्। समितिले निर्णय गरिसकेको अवस्थामा केसीले उत्सव मनाउनुपर्ने उनको तर्क थियो।
‘उहाँले यो त उत्सव मनाउनुपर्ने बेला हो जस्तो लाग्छ। त्यसमा के सम्बोधन भएन र? सम्बोधित भैसके जस्तो लाग्छ’, बाँस्कोटाले भने, ‘विषय पनि अहिले सम्बन्धित विषयसँगमात्र जोडिएर भएन… अनेक विषयसित जोडिएर कता कता हो के के हो?’
उनले केसीले अरु कसैका लागि काम गरेको हो भन्दै शंका समेत व्यक्त गरे।
‘अरु विषयमा केसीजीले के/के गर्नुहुन्छ, कता/कता मिटिङ गर्नुहुन्छ, बैठक के/के… कस-कसको कुरा हामीलाई पनि त्यतिधेरै थाहा भएन। कस-कसको अनुरोधमा उहाँले कुरा उठाउनु भएको छ थाहा भएन’, बाँस्कोटाले भने।
उनले केसीले खिचडी पकाउन खोजेको आरोप समेत लगाए।
‘विशुद्ध प्रोफेसनल हो कि अरु केही खिचिडी सिचडी पनि धुँवापत्ता केही लगाउन सकिन्छ भन्ने जस्तो पनि देखिन्छ’, बाँस्कोटाले केसीले राखेको मागबारे भने, 'यस विषयमा मैले धेरै केही भन्दिन।'
उनले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा रहेका सदस्य सांसद योगेश भट्टराईले करिब ९५ प्रतिशत केसीका माग पूरा भएको उल्लेख गरेको समेत बताए।