नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई शनिबार चक्रपथ सरसफाइमा सहभागी भएका छन्।
हातमा कुचो लिएर भट्टराई सडकका फोहोर सफा गर्दै हिँडेका हुन्। चक्रपथ सरसफाइको ९० औं साता पुगेको अवसरमा गोंगबु क्षेत्रको सडकमा रहेका प्लास्टिकलगायत फोहोर उनले संकलन गरेका हुन्।
‘चुरोट, खैनी र पेय पदार्थ खाएर त्यसका बट्टा बाटोमा फालेको पाइयो,’ भट्टराईले भने, ‘जथाभावी थुकेको छ। खकार छ। सभ्य समाज दुनियाँमा कहीँ यस्तो गरिँदैन। नागरिक जागरुक हुनुपर्छ।’
काठमाडौंलगायत सहरमा फोहोर बढ्नुमा सरकार मात्र नभएर नागरिक पनि उत्तिकै दोषी रहेको भट्टराईले बताए।
‘घर/टोलको फोहोर नागरिक वा त्यहाँका व्यवसायीले सफा गर्नुपर्छ,’ उनले भने, ‘जथाभावी फोहोर फाल्नुमा सरकार र जनता दुवै दोषी छन्। जस्तो जनता उस्तै सरकार।’
कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्नुपर्ने उनले बताए।
‘हामी फोहोरी हुनु भनेको असभ्य हुनु हो,’ उनले भने।