नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको निरंकुशता तोड्न छिट्टै देशब्यापी आन्दोलन गर्ने बताएका छन्।
नौ दिनसम्म चलेको महासमिति बैठक समापन गर्दै आइतवार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित संशोधित विधान घोषणा सभामा सभापति देउवाले सरकारको खिलापमा आन्दोलन गर्नुपर्ने भएकोले कार्यकर्तालाई तयार रहन निर्देशन दिए।
‘ओली सरकारले बदमासी गर्दैछ। निरंकुशता लाद्न खोज्दैछ। जनतालाई दु:ख दिन खोजिरहेको छ,’ सभापति देउवाले भने, ‘सरकारको विरुद्धमा आन्दोलन गर्ने दिन आउँदैछ। सबै साथीहरु अब तयार हुनुपर्छ।’
ओलीले आफ्नै पार्टी नेकपाका मान्छेलाई दु:ख दिइरहेको बताउँदै देउवाले थपे, ‘आफ्ना मान्छेलाई दु:ख दिनेले हामीलाई के सहलान्?’ संगठन विस्तार गर्दै सरकारका नराम्रा कामबारे आवाज उठाउँदै अघि बढ्न उनले पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, महासमिति सदस्य र जिल्ला सभापतिहरुलाई आग्रह गरे।
कम्युनिष्ट सरकारले निरंकुशता लाद्न खोजिरहेको दावी गर्दै देउवाले आन्दोलन गर्ने दिन छिट्टै आउने बताए।
‘पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस जिल्ला जिल्लामा मनाउन म आग्रह गर्छु,’ देउवाले भने, ‘सरकारको खिलापमा आन्दोलन कसरी गर्ने थप कार्यक्रम पार्टीले ल्याउँछ।’
कांग्रेसले समावेशी विधान बनाएको उल्लेख गर्दै देउवाले संघीयता कार्यान्वयन गर्न संविधानको भावना र मर्मअनुसार नै विधान तयार पारेको बताए। ‘महिलाहरुले ३३ प्रतिशत आरक्षण पाउनुभएको छ। विधानले ग्यारेन्टी गरिदिएको छ,’ देउवाले भने, ‘त्यहीअनुसार संगठन निर्माणमा खट्नुपर्यो।’ संगठन विस्तारका काम नगर्ने अनि अधिकारमात्रै खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उनले जोड दिए।
‘महिला, दलित, जनजाति सबैले संगठन निर्माण गर्नुपर्यो, त्यसपछि त पार्टीले यसै चुनाव जितिहाल्छ नि,’ देउवाले भने, ‘धेरै सदस्य र बलियो संगठन भयो भने मात्रै चुनाव जितिन्छ। केहीले अन्तरघात गरे भनेपनि जितिन्छ।’ चुनावमा पार्टीले उठाएका उमेद्वारलाई मतदान नगर्नेलाई कडा कारबाही गर्ने प्रतिवद्धता देउवाले पुन: दोहोर्याएका छन्। ‘सबै अन्तरघातिलाई कारबाही गरियो भने त पार्टी नै नरहला,’ उनले भने, ‘केहीलाई त कारबाही गर्नैपर्छ।’
अब कांग्रेसले गाउँदेखि सहरसम्म सदस्यता विस्तार अभियान सुरु गर्ने सभापति देउवाले बताए। ‘सदस्यता अभियान सुरु गर्ने कि नगर्ने?’ महासमिति सदस्यलाई देउवाले प्रश्न गरे, ‘यहाँ म गाउँ जान्छु, सदस्यता विस्तार गर्छु, संगठनका लागि काम गर्छु भन्छन् अनि गर्दैनन्। म पनि गाउँ जान्छु, देशभर हिड्छु, तपाइँहरु पनि संगठन बलियो बनाउन सदस्यता विस्तारमा हिड्नुहोस्।’
पार्टीलाई पूर्णरुपमा एक बनाएर अघि बढ्न नसके एक दलिय कम्युनिष्ट अधिनायकबाद आउने भएकोले प्रजातन्त्र रक्षाका लागि र जनताको स्वतन्त्रताका लागि पनि कांग्रेसले आन्दोलन गर्नुपर्ने उनले बताए। चार दिन चल्ने भनिएको महासमिति बैठक लम्बिएर नौ दिनमा सकिएको छ।
कांग्रेसले सात सदस्यीय पदाधिकारी संख्या बढाएर १४ पुर्याएको छ। कोषाध्यक्षबाहेक अरु पदमा अधिवेशनबाटै चुनिएर आउनुपर्ने विधान पास भएको हो। अब कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री अधिवेशनबाट चुनिएर आउनुपर्छ भने कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यलाई सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिले छान्नेछ। प्रवक्ता पनि मनोनित हुनेछन्।
कांग्रेसले ८५ सदस्यीय केन्द्रीय कार्यसमितिलाई बढाएर १७१ सदस्यीय बनाएको छ।