‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा स्थानीय तहका कर्मचारीहरूले देशभरका स्थानीय तहको कार्यालयको कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्।
उनीहरूले सोमबारदेखि ‘कर्मचारी समायोजन अध्यादेश’ले आफूहरूलाई विभेद गरेको निष्कर्ष निकाल्दै आन्दोलन गर्दै देशभरका सबै स्थानीय तहको कामकाज ठप्प पारेका हुन्।
निजामती कर्मचारीहरूलाई दिइँदै आएको सेवा, सुविधाबाट आफूहरूलाई बञ्चित गराउने गरी सरकारले सो अध्यादेश ल्याएपछि त्यसको विरोधमा स्थानीय तहका कर्मचारी आन्दोलित भएका हुन्। देशैभरको आन्दोलन जस्तै चन्द्रागिरी नगरपालिका अन्तरगत स्थानीय निकायका कर्मचारीले पनि कामकाज ठप्प पारेर मेयर गिरीलाई ज्ञापन पत्र बुझाएका छन्।
चन्द्रागिरी नगरपालिकाका कर्मचारीहरूले केन्द्रको निर्णय बमोजिम स्थानीयस्तरका क्रियाशील संघ, संगठन, युनियन तथा एशोसिएशनहरूले संयुक्त रूपमा समिति गठन गरी आन्दोलनको घोषणा गरेको नेपाल नगरपालिका कर्मचारी एशोसिएशनका केन्द्रीय सदस्य दीपक कुमार उपाध्यायले बताए।
उनीहरूले कर्मचारी समायोजन अध्यादेशले सेवा सुविधाबाट गरेको बञ्चितसहितका माग तत्काल सम्बोधन गर्न मागसहित आन्दोलित भएको जनाएका छन्।
नगरपालिकाका कर्मचारीहरूको आन्दोलनमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले समेत ऐक्यवद्धता जनाएका छन्।
चन्द्रागिरी नगरपालिकामा सबै संघ संस्थाको संयुक्त मोर्चा स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समिति चन्द्रागिरी नगरापालिकाले सुरू गरेको आन्दोलनमा मेयर गिरीले ज्ञापनपत्र बुझ्दै ऐक्यवद्धता जनाएका हुन्।