राज्य व्यवस्था समितिले रिक्त रहेको स्थानमा वैशाख भित्र निर्वाचन गराउन गृह मन्त्रालय र निर्वाचन आयोगलाई निर्देशन दिएको छ।
बुधबार सिंहदरबारमा बसेको बैठकले रिक्त रहेका स्थानीय निकायहरूमा जतिसक्दो चाँडो निर्वाचन गराएर पूर्णता दिन निर्देशन दिएको हो।
समितिमा जवाफ दिँदै गृह मन्त्री रामबहादुर थापाले तत्काल निर्वाचन गराउन केही कानुनी अड्चनहरू रहेको भन्दै ऐन संशोधनको तयारीमा रहेको जानकारी गराए।
‘तत्काल निर्वाचन गराउन केही कानुनी अप्ठ्याराहरू छन्, हाम्रो ती अप्ठ्यारा फुकाउने तयारी भइरहेको छ। यसका लागि ऐन संशोधन गर्नुपर्छ। त्यसका लागि संसद बैठक पनि बोलाइएको भएकाले चाँडै हुन्छ,’ मन्त्री थापाले भने।
बैठकमा जवाफ दिँदै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रासद यादवले रिक्त रहेको स्थानहरूमा चुनाव गराउन निर्वाचन आयोगलाई कुनै अधिकार नभएको जिकिर गरे।
‘रिक्त रहेका स्थानहरूमा निर्वाचन गराउन आयोगलाई निर्वाचन गराउने कुनै कानुन छैन। स्थानीय तह निर्वाचन सम्बन्धी ऐनमा पनि मिति तोक्ने अधिकार सरकारलाई मात्र छ, हामीलाई छैन त्यसैले समस्या भइरहेको छ,’ उनले भने, ‘कानुनी अड्चन हटाएर संशोधन गरेमात्र हामी निर्वाचनको तयारीमा लाग्न सक्छौ।’
कानुन कसरी छुट्यो भन्ने प्रश्नको जवाफमा यादवले निर्वाचनको मिति घोषणा पछि हतार हतार कानुन आएको जिकिर गरे।
‘११ गते निर्वाचनको मिति घोषणा भयो त्यसको ११ दिनपछि मात्र निर्वाचनसम्बन्धी कानुन पाइयो यसरी कसरी सबै कुरा समेट्न सकिन्छ?’ उनले उल्टै प्रश्न गरे।
कतिपय स्थानका वडासदस्य र अध्यक्षहरूनै जिल्ला समन्वय समितिमा पदोन्नती भएर गएकाले रिक्त रहेको स्थानमा पदपूर्ति गर्न समस्या भइरहेको छ।
यस्तै दलित महिला नभएकाले १७५ वटा सिट खाली रहेको भन्दै सांसद पम्फा भुसालले सबै ठाउँमा दलित उम्मेद्वार उपलब्ध नभए अल्पसंख्यकलाई भए पनि उम्मेद्वार बनाएर पूर्णता दिन माग गरिन्।
उनले यसरी रिक्त राख्नु भनेको लोकतन्त्रकै अपूर्णता भएको दाबी गरिन्।
निर्वाचन आयोगले चुनाव गराउनका लागि सबै कानुनी प्रकृया पुरा गरेर कम्तिमा ५० दिनको समय चाहिने यादवले अवगत गराए।
जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहमा पाँचथरको हिलिहाङ गाउँपालिका-७, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका-५, सुनसरीको धरान उपमहानगरपालिका-७, सिरहा कल्याणपुर नगरपालिका-१२, नवलपरासी पूर्व वङदीकाली गाउँपालिका-५, महोत्तरी वलबा नगरपालिका-२, अर्घाखाँचीको मालारानी गाउँपालिका-४, प्युठान ऐरावती गाउँपालिका-९ लगायत छन्। यी ठाउँमा वडाध्यक्ष खाली छ।
त्यस्तै, डोटीको आदर्श गाउँपालिका-२, अछामको मेल्लेख गाउँपालिका-५, बैतडी दोगकाडेडार गाउँपालिका-४, संखुवासभाको खाँदवारी नगरपालिका-३, काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-३, इन्द्रावती गाउँपालिका-८, सर्लाहीको हरिपुर्वा नगरपालिका-१ मा पनि वडाध्यक्ष पद रिक्त छ।
पदरिक्त हुनुको कारण मृत्यु मात्र छैन।
संखुवासभा खाँदवारी नगरपालिका-५ का सोमबहादुर घले वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएपछि अध्यक्ष पद खाली छ। त्यस्तै, नुवाकोट दुप्चेश्वर गाउँपालिका-१ का वडाध्यक्ष सुनबहादुर तामाङ मानव बेचबिखनको मुद्दामा जेल परेका छन्। उनलाई सिआइबीले वडा कार्यालयबाटै गिरफ्तार गरेको थियो।
हेर्नुहोस् रिक्त स्थानीय निकायहरू