काठमाडौंमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी ११ जना सदस्यले आर्थिक राजनीतिक प्रस्ताव सभापति शेरबहादुर देउवालाई बुझाएका छन्।
महासमिति बैठकका छलफल गर्नका लागि आफूहरूले यो प्रस्ताव सभापतिसमक्ष पेश गरेको उनीहरूले बताएका छन्।
उनीहरूले कांग्रेसलाई पुन:सशक्त पार्टीको रूपमा लैजान महासमिति बैठकले गुटगत राजनीति र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अत्यन्त संवेदनशील र कठोर निर्णय लिनुपर्ने आवश्यकता औंल्याएका छन्।
पार्टीमा विगतमा भएका राजनीतिक घटनाक्रमको समीक्षा, आगामी दिनमा कांग्रेसले लिने आर्थिक नीति र पार्टी सदस्यतालगायतका विषयमा छलफल गर्नु पर्ने उनीहरूको माग छ।
प्रस्ताव पेश गर्नेमा महासमिति सदस्यहरूमा सुवासकुमार पोखरेल(खोटाङ), दीपक खड्का (संखुवासभा), राजीवविक्रम शाह (जाजरकोट), भरत खड्का (डोटी), उमेशजंग रायमाझी (भोजपुर), विनोद कायस्थ (भक्तपुर), रमेशकुमार महत (नुवाकोट), रञ्जित कर्ण (सप्तरी), नवराज गुरूङ (पर्वत), निरञ्जन सिजापति (बाँके), चिरञ्जिवी थापा (जनसम्पर्क समिति जापान) छन्।