सरकारले संसदको हिउँदे अधिवेशन आह्वान गरेको छ।
पुस ११ गते ४ बजेका बैठक आह्वान गर्दै सरकारले राष्ट्रपति कार्यालयलाई पत्राचार गरेको हो।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक प्रावधान छ। संसद सचिवालयले पुस ११ गते र १५ गतेमध्ये एक दिन बैठक डाक्नु उचित हुने परामर्श दिएको थियो।
संसदको यो अधिवेशनले १ सय ३८ वटा कानुन परिमार्जन गरिसक्नुपर्नेछ।
त्यस्तै, ३६ वटा नयाँ कानुन निर्माण गर्नुपर्नेछ। आउँदो फागुन २१ गते नयाँ निर्वाचनपछि संसद सुरू भएको एक वर्ष पुग्दैछ।
यदि फागुन २१ गतेसम्म संविधानसँग बाँझिएका कानुन परिमार्जन नभए निष्क्रिय हुनेछन्।
त्यस्तै, हाल संसदमा विचाराधीन केही कानुन समेत पारित गर्नुपर्नेछ। चिकित्सा शिक्षासम्बन्धी विधेयक, बीमासम्बन्धी कानुन, निवृत्तिभरण कोषसम्बन्धी कानुन लगायतका सात वटा कानुन हाल संसदका समितिहरूमा रहेका छन्।
चिकित्सा शिक्षा विधेयक तत्काल पारित गर्न माग गर्दै आएका डाक्टर गोविन्द केसीले पुस १७ गतेसम्म कानुन पारित नभए आमरण अनसन बस्ने चेतावनी दिएका छन्।