नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्यहरूले सरकारको आलोचना गरेका छन्।
सरकारले जनतामा सकारात्मक सन्देश दिन नसकेको भन्दै उनीहरूले आलोचना गरेका हुन्।
पार्टीका नीति सरकारले लागू नगरेको कारण पार्टीले सरकारका कामको स्वामित्व लिने अवस्था नरहेको उनीहरूले बताएका हुन्।
‘विधान अनुसार काम भएन। विधानमा तीन महिनामा स्थायी समिति बस्ने भनियो तर बैठक पाँच महिनामा राखियो’, बैठकमा धारणा राखेका एक सदस्यले सेतोपाटीसँग भने, ‘विधानमै एक व्यक्ति एक मुख्य जिम्मेवारी भनिएको छ। तर, मुख्यमन्त्रीदेखि संसदीय दलको नेतालाई प्रदेशमा इञ्चार्ज तोकियो।’
नेकपा बैठकमा सोमबार दस जना स्थायी समिति सदस्यले धारणा राखेका थिए।
प्रत्येक स्थायी समिति सदस्यलाई २० मिनेटको समय निर्धारण गरिएको थियो। ‘सरकारका राम्रा कामको प्रचार हुन सकेन, कमजोरी रह्यो भनेर साथीहरूले भन्नुभयो’, एक स्थायी समिति सदस्यले भने, ‘जनतामा सकारात्मक सन्देश दिएन, नीति र योजना बनाउँदा पार्टीको संलग्नता भएन भनेर साथीहरूले भन्नुभयो।’
बैठकमा धारणा राखेका सचिवालय सदस्य बामदेव गौतमले आफूलाई निर्वाचनमा अन्तरघात गरेर हराइएको विषय उठाएका थिए।
‘अन्तर्घात गर्नेलाई कारबाहीको निवेदन परेको छ’, गौतमलाई उदृत गर्दै एक सदस्यले भने, ‘उनीहरूलाई पुरस्कृत गरिएको छ। काठमाडौंमा चुनाव लड्ने विषयमा पनि मेरो चरित्रहत्या गरियो।’
बैठकमा स्थायी समिति सदस्य हरिबोल गजुरेलले लिखित धारणा राखेका थिए।
अर्का एक स्थायी समिति सदस्यका अनुसार गौतम बैठकमा निराश प्रस्तुत भएका थिए। उनले कतिपय टिप्पणी समेत नकारात्मक रहेको ती सदस्यले बताए।
‘बढी नेगेटिभ टिप्पणी भयो। उहाँको धारणामा निराशाबाहेक केही देखिएन’, प्रधानमन्त्री ओली निकट ती सदस्यले भने, ‘उहाँको राम्रो धारणा भनेको पार्टी एकजुट बनाएर लैजाने भन्ने मात्र हो। बैठकमा स्थायी समिति सदस्य घनश्याम भुसालले प्रधानमन्त्री ओलीले बुद्धिजीवीबारे गरेको टिप्पणी उचित नभएको बताएका थिए।
‘बुद्धिजीवीलाई मैदानमा उत्रन भनेर चुनौती दिएकोमा घनश्यामजीले टिप्पणी गर्नुभयो’, ती सदस्यले भने।