सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेका राजनीतिक प्रतिवेदनमाथि छलफल सुरू भएको छ।
सोमबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा सुरू भएको पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्वय ओली र दाहालले संयुक्त रूपमा शनिबार पेश गरेका राजनीतिक प्रतिवेदनमाथि केन्द्रित भएर छलफल सुरू गरिएको हो।
छलफलमा भाग लिँदै नेताहरूले दुई पार्टीबीच एकीकरण भएको सात महिना बित्दा पनि पार्टी संगठनहरूको एकीकरणको काम सम्पन्न गर्न नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका थिए।
त्यसैगरी, उनीहरूले प्रदेश कमिटीको एकीकरण मापदण्डविना नै निर्माण गरिएको भन्दै सच्याउन पनि पार्टी नेतृत्वसँग माग गरेका थिए। बैठकमा राजनीतिक प्रतिवेदनमाथि सचिवालय सदस्य वामदेव गौतमले आफ्नो लिखित फरक मत पेश गरेका थिए भने नेताहरू अग्नी सापकोटा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश शाह, बेदुराम भुसाल, शक्ति बस्नेतसहित १० जना नेताहरूले छलफलमा भाग लिएका थिए।
नेताहरूले पार्टी एकीकरणपछिको हालसम्मको निर्णय प्रक्रियाप्रति पनि असन्तुष्टि जनाएका थिए। पार्टी सचिवालय बैठकबाट निर्णय लिने प्रक्रियामा असहमति जनाउँदै नेताहरूले पार्टी स्थायी समिति बैठकबाट हरेक निर्णय लिन नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएको स्थायी समिति सदस्य योगेश भट्टराईले जानकारी दिए।
बैठकमा नेताहरूले हरेक निर्णय पार्टीको स्थायी समितिबाट लिन पनि नेतृत्वलाई सचेत गराएका छन्।
यता, सरकारको काम कारबाहीप्रति भने आजको बैठकमा बोल्ने नेताहरू नरम देखिएका थिए। उनीहरूले संघीयतालाई स्थापित गराउन, अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउन, अर्थतन्त्रलाई सुदृढ बनाउन केन्द्रित भएको भन्दै सरकारप्रति नरम देखिएका हुन्। संघीयता कार्यान्वयनका लागि आवश्यक कानुनसमेत निर्माण गर्ने काम समेत सरकारले गरिरहेकोमा नेताहरूले सन्तुष्टि जनाएको पनि स्थायी समिति सदस्य भट्टराईले बताए।
नेताहरूले पार्टी र सरकारबीच समन्वय नदेखिएको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका थिए।
शनिबारदेखि सुरू भएको बैठकमा अध्यक्षद्वय ओली र दाहालले सरकारको कामकारबाहीप्रति केन्द्रित भएर पार्टीको राजनीतिक प्रतिवेदन तयार पारेका थिए।
सोही प्रतिवेदनमाथि सोमबारको बैठकबाट छलफल सुरू गरिएको हो। बैठकको सुरूमा बोल्दै अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले पार्टी र सरकारबारे खुलेर छलफलमा भाग लिन नेताहरूलाई आग्रह गरेका थिए।
स्थायी समिति बैठक भोलि पनि बस्नेछ। त्यसमा बाँकी सदस्यहरूले छलफलमा भाग लिनु हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।