वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले पुस १७ गतेदेखि सोह्रौं अनसन सुरू गर्ने घोषणा गरेका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै चिकित्सक केसीले पन्ध्रौं सत्याग्रहता भएको सम्झौताअनुसार सबै माग पूरा नभए सत्याग्रह थाल्ने घोषणा गरेका हुन्।
संसदको शिक्षा तथा स्वास्थ्य समितिका तर्फबाट चिकित्सा शिक्षा विधेयकलाई अघि बढाउन केही दिन समय लाग्ने भन्ने जानकारी हुन आएकाले सम्झौताबमोजिम विधेयक अघि बढाउन समितिलाई सहज होस् भनी अनसनको समय सारेको उनले बताएका छन्।
केसीले यसअघि पुस २ गतेदेखि अनसन बस्ने घोषणा गरेका थिए।
‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयकसहित बाँकी मागहरूसमेत पूरा गर्न स्मरण गराउँदै घोषित सत्याग्रहलाई दुई साताले पछि सारेका छौं। यसबीच विधेयकमा कुनै चलखेल भएर माथेमा कार्यदलको प्रतिवेदन, यसअगाडि दुई पल्ट जारी भएका अध्यादेश तथा हामीसँग बारम्बार भएका सम्झौताहरू भन्दा प्रतिकूल हुने गरी चलखेल भए कुनै पनि बेला सत्याग्रह सुरू हुन्छ,’ केसीले विज्ञप्तिमार्फत जनाएका छन्।
बारम्बार ध्यानाकर्षण गराउँदा पनि मागहरू पूरा गर्न सरकार जिम्मेवार नभएको केसीले जनाएका छन्।
त्रिविले आइओएमबाट खोसेर लगिएको सम्बन्धन फिर्ता नगरेको, सिट र शुल्कसम्बन्धी अधिकारहरू फिर्ता नगरी तिनको दुरुपयोग गर्दै माफियाको इशारामा काम गरिरहेको केसीले दाबी गरेका छन्। सरकारले प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज खोल्ने काममा सरकारले अझै तदारुकता देखाएको छैन।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि राजनीतिक दबाबका कारण स्नातकोत्तरको अनुमति दिन नेपाल मेडिकल काउन्सिलले आनाकानी गरिरहेको उनले जनाएका छन्। काठमाडौंमा निजी मेडिकल कलेज खोलेर व्यापार गर्न चाहनेहरू कर्णालीमा एमबीबीएस सुरू हुन नदिन अनेक प्रपञ्चमा लागिरहेको केसीले बताएका छन्।
उनले, सरकारले हालै स्वास्थ्य मन्त्रालयको सचिवमा चिकित्सकहरूमध्येबाट नियुक्त गर्नुपर्नेमा गैर–चिकित्सकबाट नियुक्ति गरेको भन्दै आपत्ति जनाएका छन्। ‘यस्तो गलत कदमले लथालिंग रहेको देशको स्वास्थ्य क्षेत्रलाई झनै अस्तव्यस्त बनाउने हुँदा तत्काल त्यसलाई सच्याउन पनि ध्यानाकर्षण गराउन चाहन्छु,’ केसीले उल्लेख गरेका छन्।
पन्ध्रौं सत्याग्रह तोड्दा केसीले राखेका अधिकांश माग पूरा भएको ठानिएको थियो। संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा २२ वटा संशोधन गर्न सरकार तयार भएको थियो। चिकित्सा विधेयक संशोधनसहित ९ बुँदे माग राखेर केसी अनसन बसेका थिए।
संघीय संसदको बर्खे अधिवेशन सकिएसँगै चिकित्सा विधेयकमा छलफल हुन पाएको छैन। संसदको हिउँदे अधिवेशन आह्वान भइसकेको छैन।