राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले 'राजा ज्ञानेन्द्र शाह नाच्दा हल्लिने यो कस्तो गणतन्त्र हो?' भनी प्रश्न गरेका छन्।
उनले सो प्रश्न नेकपाको अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले केहि दिन अगाडी दिएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रश्न सोधेका हुन्।
केही दिन अघि राजा ज्ञानेन्द्र राजधानीको लाजिम्पाटस्थित एक रेष्टुरेन्टमा पारिवारिक जमघटमा नाचेका थिए। उनी नाचेको भन्दै प्रचण्डले त्यसको विरोध गरेका थिए।
‘राजा व्यक्तिगत एवं पारिवारिक जीवनसँग सम्बन्धित समारोहमा नाचेको घटनालाई लिएर शीर्ष तहको नेताबाट जुन ढंगले अभिव्यक्ति आएको छ यो कमजोर र हतास मानसिकताको उपज हो । गणतन्त्रको जग कमजोर रहेको यसबाट पुष्टि हुन्छ', कैलालीको धनगढीमा प्रदेश नं. ७ का पार्टीका प्रदेशस्तरीय कार्यक्रर्तालाई आइतबार प्रशिक्षण दिने क्रममा थापाले भने।
थापाले सो सम्बोधनमा गणतन्त्रको जग कमजोर रहेको यसबाट पुष्टि हुने बताए । उनले प्रचण्डले राजाको स्वतन्त्रतामाथि आक्रमण गरेको आरोप समेत लगाए।
उनले भने, 'कसैको व्यक्तिगत नीजि जीवनमाथी टिप्पणी गर्नु एउटा वरिष्ठ नेतालाई सुहाउने कुरा होइन।'
प्रचण्डको अभिव्यक्ति हतास मनस्थितिको उपज भएको थापाको भनाइ छ।
उनले धनगढीमा पार्टी कार्यकर्तालाई विगतका गल्ती, त्रुटी कमि–कमजोरीलाई सच्चाएर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै अब आफूले सत्ता केन्द्रित राजनीति नगर्ने,नैतिकता र निष्ठाको राजनीति गर्ने कुरा जनतालाई बुझाउने भनाइ राखेका थिए ।
‘पार्टीका एजेण्डा र सिद्धान्त छाड्ने छुट पार्टी नेता कार्यकर्ता हामी कसैलाई छैन । एजेण्डा छोडे देश जनता र हिन्दु धर्मप्रति धोका हुनेछ ।’
त्यस्तै उनले दलहरूले बितेको १२ वर्षमा काम गर्न नसकेकाले राजसंस्था र हिन्दु राष्ट्रलाई लिएर जनतामा आकर्षण बढेको दाबी समेत गरे। उनले गणतन्त्रको असफलताले जनता त्यतातर्फ आकर्षित भइरहेको पनि बताए। उनले चुनाब हारे पनि यस परिस्थिति राप्रपालाई उठाउने धारणासमेत राखेका थिए।