स्थानीय तहका कर्मचारीहरूले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्।
स्थानीय तहमा कार्यरत कर्मचारीहरू आबद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियन, नेपाललगायतका संघ, संगठनहरूले कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरूलाई विभेद गरेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।
निजामती कर्मचारी र आफूहरूलाई दिने सेवा, सुविधामा नै विभेद भएपछि सो अध्यादेशविरूद्ध आन्दोलनमा जान बाध्य हुनुपरेको स्थानीय तह कर्मचारी संघका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घोषणा गरिएको कार्यक्रम अनुसार यही पुस १० गते काठमाडौंमा विरोध सभा आयोजना गर्ने र सोही सभामा थप सशक्त कार्यक्रम घोषणा गर्ने जानकारी दिइएको छ।
संघले साविकको स्थानीय निकायमा कार्यरत श्रणीविहीन कर्मचारीहरूको तह, सेवा र सुविधा तत्काल वृद्धि गर्न पनि सरकारलाई दबाब दिएको छ। संघका अध्यक्ष श्रेष्ठले निजामती कर्मचारीहरूलाई अघि सारेर आफूहरूलाई विभेद नगर्न सरकारलाई पटक/पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो पनि गरे।
सरकारले प्रदेश र स्थानीय तहको कर्मचारी समायोजनाको नाममा निजामती कर्मचारीहरूलाई मात्रै प्रोत्साहन गर्ने काम गरेकोमा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको आपत्ति छ।