नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले घरभाडावापत आएको ९० हजार रूपैयाँ फिर्ता गर्ने बताएका छन्।
आइतबार विज्ञप्ति जारी गर्दै ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले १० महिनाको घरभाडावापत आफ्नो खातामा आएको ९० हजार रूपैयाँ संसद सचिवालयलाई फिर्ता गर्ने बताएका हुन्।
‘संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरूको विवरण फारम भराउँदा मैले काठमाडौंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रूपमा उल्लेख गरेको छु । सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घर भाडा लिनेको सूचीमा मेरो नाम प्रकाशित हुँदा म आफैं आश्चर्यमा परेको छु,’ भट्टराईले भनेका छन्,‘घरभाडावापत मेरो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनाको रु. ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गर्दछु।’
भट्टराईले संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा दुःख व्यक्त गरेका छन्।
‘लामो राजनीतिक यात्रा तय गरेर हिँडेको मजस्तो व्यक्तिबाट कुनै गैरकानुनी तथा गलत आचरणका कार्य नहुने कुरा पुनः प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,’ भट्टराईले भनेका छन्।
खोज पत्रकारिता केन्द्रले काठमाडौंमा घर भइकन पनि संसदबाट घरभाडावापत पैसा लिने सांसदहरू विवरण समेटेर बनाएको समाचार मंसिर २९ को कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो।