संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको सुनुवाइ प्रक्रिया सुरू गरेको छ।
संसदीय सुनुवाइ विशेष समितिको आइतबार बिहान सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश जबराविरूद्ध उजुरी दिन सोमबारबाट आह्वान गर्ने निर्णय गरेको हो।
गत बिहिबार बसेको संवैधानिक परिषदको बैठकले जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गर्दै सुनुवाइ गर्न समितिलाई पत्राचार गरेको थियो। सोही पत्राचारमाथि छलफल गर्दै समितिले भोलि (सोमबार)देखि १० दिनसम्मका लागि प्रधानन्यायाधीशमा सिफारिस जबराविरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। प्रधानन्यायाधीशमा सिफारिस जबराविरूद्धको उजुरी सोमबारदेखि आह्वान गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
प्रधानन्यायाधिशमा सिफारिस जबराविरुद्ध आह्वान गरिएको उजुरीको म्याद १० दिनमा सकिएपछि सो उजुरीको सम्बन्धमा उजुरीकर्तासँग आवश्यक छलफल गर्नुपर्ने हुन्छ। सभापति कर्णले उजुरीकर्ताको उजुरीउपर छलफल गरेपछि तत्काल प्रधानन्यायाधीशमा सिफारिस जबरासँग सुनुवाइ हुने स्पष्ट पारे।
समितिले जबराको सुनुवाइ चित्त बुझे प्रधानन्यायाधीशमा उनको नाम अनुमोदन गर्नेछ। संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि जबरालाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। यसअघि संसदीय सुनुवाइ विशेष समितिले अयोग्य ठहर गरेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीपछि दोस्रो वरियतामा रहेका जबरालाई संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।