नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले नेकपा स्थायी समिति बैठकमा २२ पृष्ठ लामो राजनीतिक प्रतिवदेन पेश गरेसँगै स्थायी समिति बैठक सोमबार १ बजेसम्मका लागि स्थगित भएको छ।
पहिलो पटक नेकपाको स्थायी समिति बैठक पार्टी कार्यालयमा बसेको बैठकमा कतिपय स्थायी समितिले भने त्यस प्रतिवेदनप्रति आपत्ति जनाएका थिए।
प्रतिवेदन स्थायी समितिका सदस्यसँग छलफल नै नगरी आफूखुसी बनाएकोमा केही स्थायी सदस्यले असन्तुष्टि व्यक्त गरेका हुन्। समितिका सदस्यहरू भीम रावल, योगेश भट्टराई, वेदुराम भुसाल र धनश्याम भुसाललगायतले प्रतिवेदनप्रति आपत्ति जनाएका हुन्।
त्यसको जवाफमा प्रचण्डले स्थायी समिति सदस्यलाई पहिला प्रतिवेदन पढ्न सुझाएका थिए।
‘पहिला तपाईंहरू प्रतिवेदन पढ्नुहोस्। प्रतिवेदनमा नसमेटिएका विषयवस्तुबारे पछि छलफल गरौंला’ भनेका बैठकमा सहभागी एक स्थायी सदस्यले सेतोपाटीलाई बताए।
सोमबारदेखि राजनीतिक प्रतिवेदनबारे छलफल हुनेछ।
प्रतिवेदन सार्वजनिक गर्नुअघि नेकपाका अर्का अध्यक्ष केपी ओलीले बैठकलाई सम्बोधन गरेका थिए।