नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठकबाट एकतासहितको देश बनाउने सपना साकार पार्ने प्रतिवद्धता आउन जरुरी रहेको बताएका छन्।
शनिबारदेखि राजधानी काठमाडौंमा सुरू महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले महासमिति बैठकले जनअपेक्षालाई सम्बोधन हुने गरी एकताको सन्देशसहितको देश बनाउने प्रतिवद्धताको सन्देश दिन सक्नुपर्ने बताए।
महासमितिले दिने सन्देशबारे मुलुकभर चासो भएको भन्दै उनले सबै क्षेत्र, वर्ग र सरोकारलाई सम्बोधन गर्न सक्नुपर्ने उल्लेख गरे।
उनले महासमतिको बैठकबाट देश बनाउने सपना साकार पार्न सक्छौं भन्ने प्रतिवद्धतासहित १५ वर्षभित्र लगातार तीन वटा निर्वाचन जितेर मुलुकलाई सम्वृद्ध बनाउँछौं भनी संकल्प गर्नुपर्ने आवश्यकता औंल्याए।
पुराना कार्यकर्ता, माओवादीबाट मारिएका परिवार, वैदेशिक रोजगारीमा रहेका कांग्रेसका शुभचिन्तक, सरकारको व्यवहारबाट असन्तुष्ट सत्तारुढ दलकै कार्यकर्ता, मधेसी, जनजातिलगायत सबैलाई आशा पलाउने गरी महासमिति बैठकले सन्देश दिनुपर्नेमा उनले जोड दिए।
‘सपनाको स्वर्ग नै भेटिन्छ’ भनेर कम्युनिस्ट पार्टीलाई मत दिएका हजारौं नेपालीले सरकार पनि भेटिएन भनी प्रतिक्षा गरिरहेका र न्यायको पर्खाइमा बसेका नेपाली चेलीहरूका लागि कांग्रेसले महासमिति बैठकमार्फत् सकारात्मक सन्देश दिन सक्नुपर्ने तर्क उनको थियो ।
उनले ‘मैले जवाफ दियो भने बुद्धिजीवी थला पर्छन्’ भन्ने प्रधानमन्त्रीलाई जवाफ दिन सक्ने सन्देश महासमितिले दिनुपर्नेमा पनि उनले जोड दिए।
उनले नेपाली कांग्रेसले कार्लमाक्सले छोडेर गएको दर्शन नभई जननेता बीपीले छोडेर गएको लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने र त्यही विश्वासको माध्यमबाट देशलाई वदल्ने सामर्थ्य राख्ने बताए।
नेपाल कांग्रेस समय अनुकूल आफूलाई बदल्ने संकल्पमा रहेको भन्दै त्यसमा आवद्ध हुन पनि उनले आग्रह गरे।
उद्घाटन सत्रको सभापति शेर बहादुर देउवाले विरुवामा जल सिंचन गरेर उद्घाटन गर्न भएको थिए।
कार्यक्रममा सभापति देउवाले नेपाली कांग्रेसको एक दशकका तस्वीरहरू पनि सार्वजनिक गरेका थिए।