प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले शुक्रबार बिहान ट्विट गरे- अफवाह नफैलाऔं। समय नै नलिई राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाएरै छाडने ढिपी गर्नेलाई अरू देशमा के गरिन्छ? कानुनबमोजिम तोकिएको निषेधित क्षेत्रमा खेलौना कार राखेर तस्बिर उतार्ने छविकारलाई सुरक्षाकर्मीले सलाम गर्दैनन्, सोधखोज गर्न केहीबेर रोक्छन्।
ट्वीटको अन्तिममा उनले #जिम्मेवार पत्रकारिता पनि लेखेका थिए।
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उप-प्राध्यापकसमेत रहेका डाक्टर अर्यालको यो ट्वीट देशसञ्चार डटकमकी फोटो पत्रकार वर्षा शाहलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको विषयमा थियो।
पत्रकारिताका उप-प्राध्यापकले नै पत्रकार पक्राउको बचाउ गरेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ।
प्रेस सल्लाहकार अर्यालले भने विषयलाई अनावश्यक रूपमा राजनीतिकरण गरिएको बताएका छन्।
‘बिहान आएर मैले त्यो समाचार पढेपछि इन्द्रजित राईलाई पनि सोधें, गृहसचिवलाई पनि सोधें। राष्ट्रपतिका स्वकीय सचिव भेषराज दाहालसँग पनि कुरा गरें,’ अर्यालले भने, ‘उनीहरूले भनेअनुसार सुरूमा प्रहरीले प्रदर्शनकारीलाई संयमित भएरै व्यवहार गरेको थियो। पछि भित्रबाट भनेछन्- फोटोसोटो खिच्न थालिसके। त्यहाँ फोटो खिच्न नदेऊ। प्रहरीले भीड पन्छायो। फुर्ति लगाउने पत्रकारसँग कि त जुम लेन्स हुनुपर्यो। टाढैबाट फोटो खिचेको भए कसले के भन्थ्यो र! सवाल फोटो खिच्न दिने/नदिने भन्दा पनि निषेधित क्षेत्र हो, निषेधित क्षेत्रमा मान्छे प्रवेश गर्न पाउँदैन भनेर पन्छाउने क्रममा एउटा पत्रकार पनि परेको हो।’
उनले राष्ट्रपतिलाई गाडी दिने कार्यक्रमको डिजाइनमै गडबडी रहेको बताए। अर्यालले भने,‘लोकप्रिय हुनमात्र कुरा गरेर हुन्छ? हुँदैन नि। राष्ट्रपतिले संविधानत: केही गल्ती पनि गर्दैनन् केही गर्न पनि पाउँदैनन् भनेको छैन र? त्यही भएर राष्ट्रपतिले शेरबहादुर देउवाले दिएको सिफारिशलाई पनि हुन्छ भनेको हो पछि केपी शर्मा ओलीले त्यसलाई पल्टाउँदा पनि हुन्छ भनेको हो। हामीले बुझेको यही हो। त्यस्तो राष्ट्रपतिलाई तिमीले यस्तो कार चढ्यौ भनेर जानुको के तुक छ?
अर्यालले निषेधित क्षेत्रमा गएको जोसुकैलाई प्रहरीले पन्छाउने बताए।
‘पत्रकारले प्रेस पास देखाएर निषेधित क्षेत्रमा जान पाउँछ कि पाउँदैन भन्ने कुरामा त कुनै बहस हुनु नपर्ने हो। अहिले ट्वीटमा त कतिले पत्रकारलाई किन निषेधित क्षेत्रमा समातेको भनेर लेख्न थाले। निषेधित त सबैलाई निषेधित हो। त्यसो नहुँदो हो त प्रेस पास लिएर धावनमार्गसम्म पनि जान पाइन्थ्यो होला,’ अर्यालले भने, ‘फोटो खिच्दा त्यो तानातानबाट आफूलाई सुरक्षित राखेर खिचेको भए त कसले के भन्थ्यो र! बाहिर त पावरवाला लेन्सले परैबाट खिच्छन्।’
फोटो पत्रकार शाहले भने आफू प्रहरी र प्रदर्शनकारीको तानातानमा परेको नभई कार्यक्रम सकिएपछि गाडी चढ्न लाग्दा प्रहरी आएर समातेको बताएकी छन्।
घटनाबारे उनले देशसञ्चारमा लेखेकी छन्-ती युवाहरू आफ्नो बाटो लागे र म पनि आफ्नो बाटो लागें। म सिधै अफिस जाने निधोसँगै रत्नपार्कको गाडी चढ्नका लागि राष्ट्रपति कार्यालयतिर मोडिएँ, किनकी रत्नपार्क जाने गाडी धेरै त्यहीँ आउँछ।
त्यसबीच मैले क्यामरा आफ्नो ब्यागमा राख्दै थिएँ। केही प्रहरी मेरो सामू आए। ‘एक छिन पर्खनु, खै क्यामरा हेरौं?’ भने। मैले मेरो ब्याग बोकेर उनीहरूलाई नदिने बताएँ।
यसपछि एक प्रहरीले ‘तपाईँ कहाँबाट?’ भने, मैले जवाफ दिएँ ‘मिडियाबाट हो।’ अनि एम पौडेल नेमप्लेट भएकी प्रहरीले चर्को स्वरमा भनिन्, ‘यो त्यही हो, अघि हामीलाई नसोधी फोटो खिचेकी थिई।’
योबीचमा अरू पनि जम्मा भएका थिए। प्रहरीले उनीहरूलाई धपाइरहेका थिए। मैले म कार्यरत देशसञ्चारका सम्पादक युवराज घिमिरेलाई सम्पर्क गर्न खोज्दा सादा पोसाकमा रहेका एक प्रहरीले फोन खोसे।
मैले कार्ड देखाएँ। तर उनीहरुले ‘कार्ड र क्यामरा बोक्दैमा हुन्छ, हामीलाई हाकिमबाट गाली खुवाउने?’ भने।
प्रदर्शन सकेर प्रदर्शनकारी फर्किसकेपछि प्रहरीले आएर शाहलाई समातेको भन्नेबार आफूलाई सबै जानकारी नभएको अर्यालले बताए।
प्रधानमन्त्रीको प्रेस सल्लाहकारलाई बिर्सेर पत्रकारिताको उप-प्राध्यापकका हिसाबले भन्दा ती फोटो पत्रकारको गल्ती नै हो भन्ने लाग्छ त? भन्ने सेतोपाटीको प्रश्नमा अर्यालले भने, ‘गल्ती र नगल्ती म भन्दै भन्दिनँ। मैले कतै त्यस्तो भनेको पनि छैन। मैले के भनेको छु भने भीडन्तमा पर्दा यस्ताखाले घटना हुन्छन्। निषेधित क्षेत्र भनेको ठाउँमा पत्रकार प्रेस पास लिएर जाने होइन। परबाट खिच्न पाइन्छ। कहीँ पनि पत्रकार त्यहाँ जाँदैन।’
निषेधित क्षेत्रमा प्रदर्शन गर्न नपाइने हो कि फोटो खिच्न नपाइने हो भन्ने अर्को प्रश्नमा अर्यालले भने-टाढैबाट खिच्न मिल्छ तर त्यही गएर फोटो खिचेको छ। त्यो मिल्दैन। प्रदर्शनकारी र प्रहरीको बीचमा पर्नु भनेको दुखद हो। पत्रकारले सुरक्षा पहिला हुन्छ भन्ने त्यत्रो तालिम लिएको हुन्छ नि। मसँग प्रेसपास छ भनेर जहाँ पनि जान पाइन्छ त?