प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन्।
यद्यपि उनले प्रदेशको राजधानी अहिलेकैलाई कायम गरिने स्पष्ट पारे ।
बुधबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मुख्यमन्त्री पौडेलले भने,‘आउने पुसभित्रै प्रदेश नम्बर ३ को नामाकरण गर्छौं । तर अहिले राजधानी तलमाथि गरियो भने एक वर्ष फेरि भौतिक संरचना तयार पार्नकै लागि समय खेर जान्छ। हामीले नसकेर नामाकरण नगरेको होइन। हामी यो जम्माजम्मी दश महिना भूइँ र सुकुलमा बसेर काम गरेका हौं। यो अवधिमा हामीले सारा संरचना तयार गर्यौं।’
मुख्यमन्त्री पौडेलले आफूहरू भर्खरै एउटा ट्रयाकमा हिँड्न थालेको र अब विकास निर्माणको कामले गति लिनुपर्छ भनेर हिँडिरहेको अवस्थामा फेरि राजधानीलाई तलमाथि गरिए एक वर्ष ब्याक हुने धारणा राखे।
उनले भने,‘हाम्रो राजधानी अहिले जहाँ छ, जसरी काम भैरहेको छ। भौतिक संरचनासहित त्यहाँ सेटअप छ । अब त्यो ठाउँबाट राजधानी लानेबित्तिकै हामीले यो वर्ष गरिएका योजनाहरूलाई बाधा पुर्याउँछ। १३ वटै जिल्लामा हाम्रा कार्यालयहरू स्थापना भैसकेका छन् । डिभिजन कार्यालयहरू सबै बनिसकेका छन् ।’
काम गर्नको लागि आफूहरूले वातावरण तयार पारेको उनको जिकिर छ।
उनले भने,‘प्रदेश सरकार गठन भएको अहिले दश महिना भयो। यो अवधिमा सरकारले के गर्यो भनेर प्रश्नहरू उठेका छन्। होलान्। तर, यो अवधिमा प्रदेश सरकार चुप लागेर बसेको छैन। केही समस्याहरू थिए । हामीलाई कानुनको अभाव थियो । हामीलाई टेक्ने ठाउँ थिएन। कानुनहरू थिएनन्। कानुन नबनाइकन अगाडि बढ्ने हामीसँग कुनै आधार थिएन। त्यसैले हामीले कानुन बनाउनको लागि प्राथमिकता दिएका थियौं ।’
उनले अब लगभग कामहरू नरोकिनेगरी कानुन निर्माण गरिसकिएको जनाए।
उनले भने,‘धेरै प्रतिशत कानुनहरू बनाइसक्यौं। अब कामहरू नरोकिनेगरी कानुन निर्माण गरिसक्यौं। हामीले २५/२६ वटा कानुनहरू बनाइसक्यौं। र, त्यो बजेटमा पनि निस्किसकेको छ। त्यो प्रमाणित पनि भैसकेको छ। त्यसैले अब काम गर्नको लागि धेरै समस्या हामीलाई छैन।’