भारतीय राज्य उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउन पाएकोमा आफूलाई धन्य ठानेको बताएका छन्।
विवाह पञ्चमीमा जन्ति बनेर बुधबार जनकपुर आएका आदित्यनाथले जानकी मन्दिरको आगन्तुक पुस्तिकामा लेखेका छन्- विवाह पञ्चमीको पावन अवसरमा जनकपुरधाममा पूजा-अर्चना गर्ने र विदेहराज महाराज जनकको भूमिको यात्रा गर्ने अवसर मिलेकोमा स्वंयमलाई धन्य ठान्छु।
मुख्यमन्त्री आदित्यनाथले भगवान राम र सीताको जीवन दुबै देशको धर्म संस्कृति र सभ्यताको अभिन्न अंग भएको बताएका छन्।
रामजानकी विवाहोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट आउने जन्तीको नेतृत्व गर्दै आदित्यनाथ जनकपुरधाम आइपुगेका हुन्।
उनी लखनऊबाट निजी विमानमार्फत् जनकपुरधाम आएका हुन्।
जानकी मन्दिरमा पूजा सकेपछि उनी प्रदेश नम्बर दुईको सरकारले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन्।
विवाहोत्सव कार्यक्रममा सहभागी भएपछि आदित्यनाथ आजै साँझ करिब पौने ६ बजे उत्तर प्रदेशको राजधानी लखनऊ फर्कने कार्यक्रम छ।
मुख्यमन्त्री योगीलाई विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा सभामुख, उपसभामुख तथा मन्त्रिपरिषदको सदस्यहरूले स्वागत गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले यो विवाह पञ्चमीमा सहभागी हुन समकक्षी नरेन्द्र मोदीलाई निम्तो पठाएका थिए।
मोदीले व्यस्तताका कारण आउन नसक्ने बताउँदै आदित्यनाथलाई प्रतिनिधिका रूपमा जनकपुर पठाएका हुन्।
यो पनि,
उत्तरप्रदेशका मुख्यमन्त्री योगी जन्तीसहित जनकपुरधाममा