अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको विषयमा कुनै निर्णय नभएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन्।
मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री ज्ञवालीले राजदूत शेर्पाको विषयमा अहिलेसम्म कुनै ठोस निर्णयमा नपुगेको भन्दै छानबिन चलिरहेको बताएका छन्।
‘आन्तरिक छानबिन भइरहेको छ। हामी अध्ययनकै क्रममा छौं, शेर्पाको विषयमा कुनै निर्णय भएको छैन,’ मन्त्री ज्ञवालीले भने, ‘सबै सत्य तथ्य बुझेर आवश्यक निर्णयमा पुग्छौं।’
विवादमा परेपछि राजदूत शेर्पालाई स्पष्टिकरणका लागि काठमाडौं बोलाइएको थियो।
उनी छानबिनमा परेपछि आइतबार काठमाडौं आइपुगेलगत्तै मन्त्रालयमा हाजिर भएर बयान दिएकी थिइन्। विवादमा परेपछि दुई पक्षीय सम्बन्ध नै असहज बन्न सक्ने भन्दै सरकारले राजदूतलाई काठमाडौं झिकाएको थियो।
यसैबीच छानबिन समितिले बनाएको प्रतिवेदन मन्त्रीलाई बुझाइसकेको छ। सत्यतथ्य स्पष्ट हुनासाथ उनको बारेमा ठोस निर्णय हुनेछ।
शेर्पामाथि मानव तस्करीमा सहयोगी बनेको आरोप लागेको छ। राजदूत शेर्पामाथि गम्भीर आरोप लागेकाले सत्यतथ्य पत्ता लगाउन परराष्ट्रले समिति बनाएको हो।
परराष्ट्रका प्रशासन महाशाखा प्रमुख मणि भट्टराईको नेतृत्वमा अस्ट्रेलियासमेत हेर्ने महाशाखा प्रमुख तापास अधिकारी र शिष्टाचार महापाल दीपक अधिकारीसहितको समितिले उनीबारे छानबिन थालेको थियो।
अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि अचानक विवादमा परेकी थिइन्।
छोटो समयमा कुटनीतिक मर्यादाभित्र शान र मान कमाउन सफल राजदूत शेर्पामाथि आफ्नै कामदारले यसरी पैसाको आरोप लगाउँदै सञ्चार माध्यममा सार्वजनिक अभिव्यक्ति दिएपछि यो विषय निकै गम्भीर बनेको हो।
मोटो रकम असुलेर कामदारका रूपमा आफूलाई अस्ट्रेलिया ल्याएको र श्रीमतीलाईसमेत यता ल्याउन थप पैसा मागेका उनका पूर्वचालक वाड्चु शेर्पाले आरोप लगाउँदै आएका छन्।
आमा क्यान्सरले गुमाएको र अहिले श्रीमतीलाई समेत जेल हालेर मार्न खोजेपछि बाध्य भएर आफू मिडियामा सार्वजनिक हुनुपरेको वाड्चु शेर्पाले सेतोपाटीसँग बताए।
राजदूतावासले भने निकै बदमास रहेका वाड्चु शेर्पाले बहुमूल्य गरगहना चोरेर भागेको र यहाँ स्थायी बसोबासका लागि विभिन्न बहाना बनाउँदै झूटा आरोप लगाएको बताएको छ।