प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रविरोधी केही तत्वहरूले विभिन्न विषय उछालेर देशलाई अस्थिरता निम्त्याउने प्रयास गरेको बताएका छन्।
अन्तर प्रदेश परिषदको बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले संघीयतालाई कमजोर बनाउन गौंडाहरू कुरिबसेकाले त्यस्तालाई मौका दिनु नहुने बताए।
‘सरकारलाई कहाँबाट बदनाम गर्न सकिन्छ। संघीयतालाई कहाँबाट कमजोर पार्न सकिन्छ भन्ने गौंडाहरू कुरेर बसेका छन्’, प्रधानमन्त्री ओलीले भने,‘त्यस्ताहरूलाई मौका दिनुहुँदैन।’
देशमा अनेक नाममा द्वन्द्व मच्चाउने र विखण्डनको प्रयास गर्नेकाविरूद्ध सरकारले कडा कदम चाल्ने प्रधानमन्त्री ओलीले बताए।
‘देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ। अब चाँहिएको कुन व्यवस्था हो ? यही व्यवस्थाभित्रबाट जे चाँहिएको हो त्यही कुरा पाउन सकिन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यस कारण अनेक नाममा बखेडा किन झिक्ने ? यो त केवल चन्दा उठाउने र जनतालाई त्रसित पार्ने काममात्र हो।’
साथै, सरकारलाई कर्मचारीको पूर्ण सहयोग रहेको उनले बताए।
‘कर्मचारीहरू पनि संघीयतामा पोख्त होइनन्। उनीहरूले पनि संघीयताको प्रयोग सिक्दैछन्’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले संघीयता सफल पार्न कर्मचारीले असहयोग गरे, सरकारलाई सहयोग गरेनन् भन्ने कुरा सत्य होइन। हामी राजनीतिज्ञ जस्तै कर्मचारी पनि यस प्रणालीमा नयाँ नै छन्। उनीहरूले जाने बुझे अनुसार सहयोग नै गरेका छन्।’
आवश्यकता अनुसारका कर्मचारी नहुँदा प्रदेशहरूमा कर्मचारीको अभाव भएको हुनसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
आजको बैठकमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना प्रदेशका समस्याका बारेमा प्रतिवेदन पेश गरेका थिए।