नेपाली कांग्रेसको सोमबार जारी केन्द्रीय कार्यसमिति बैठकले आर्थिक नीतिसहितको प्रतिवेदन पारित गरेको छ।
सहमहामन्त्री प्रकाशशरण महत संयोजकत्वको समितिले तयार पारेको आर्थिक नीतिलाई परिमार्जनसहित केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको हो।
‘परिमार्जनसहित आर्थिक नीति पारित भएको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले सेतोपाटीसँग भने।
उक्त नीति कांग्रेसले शुक्रबारदेखि सुरू हुने महासमिति बैठकमा पेश गर्नेछ।
केन्द्रीय कार्यसमितिमा उपसभापति विमलेन्द्र निधि संयोजकत्वको समितिले तयार पारेको राजनीतिक प्रस्तावको प्रतिवेदन आज साँझ वा मंगलबार बिहान पेश गर्ने तयारीमा कांग्रेस छ।
महासमिति बैठक मंसिर २८ देखि पुस ३ सम्म काठमाडौंमा हुँदैछ।