परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विश्वका शक्तिशाली राष्ट्रहरू हतियारको प्रतिस्पर्धा छोडेर विश्वमा जारी हिंसा, भोक र रोगलाई निर्मुल गर्नतर्फ लाग्नुपर्ने धारणा राखेका छन्।
सोमबार राजधानीमा आयोजित ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित विशेष साक्षात्कारमा बोल्दै मन्त्री ज्ञवालीले विश्वका विकसित र शक्तिशाली राष्ट्रहरूले हतियारमा लगानी गर्ने रकमको १० प्रतिशतमात्रै विश्वमा जारी हिंसा, भोक र रोगको अन्त्यका लागि खर्चिने हो भने मानवअधिकार सुरक्षित हुने धारणा राखे।
उनले थपे,‘ठूला राष्ट्रहरूले संयुक्तराष्ट्र वडापत्रमा हस्ताक्षर गरेअनुरूप काम गर्नुपर्छ, ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइरहँदा यमन र सिरियाका मानिसहरूको हालत के छ? त्यहाँका मानिसले खान पाएका छैनन्, शान्तिकासाथ बाँच्न पाएका छैनन्, यसका बारेमा गम्भीर हुनुपर्छ कि पर्दैन्?’
उनले अघि थपे,‘विश्वका प्रायः देशहरूले संयुक्त राष्ट्र संघको वडापत्रलाई कानुनको रूपमा स्वीकार गरेको स्थिति छ, त्यसैले विश्वमा जारी हिंसा, भोक र रोगलाई निर्मूल पार्न सक्नु आजको चुनौती हो, वडापत्रअनुसार विश्वका मानिसहरू सार्वभौम भएर बाँच्न पाउँछन्, विश्वका मानिसहरूले आर्थिक, राजनीतिक, बालअधिकार, महिला, लैंगिक, शारीरिक, मानसिक अधिकारहरूको उच्चतम प्रयोग गर्न पाउनुपर्छ ।’