नेकपाका महासचिव एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बहुविषय अध्यापन गराउनुपर्ने बताएका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औं वार्षिकोत्सव कार्यक्रमको शुक्रवार उद्घाटन गर्दै नेता पौडेलले कानुन संसोधन गरेरै भए पनि बहुविषय अध्ययनमा विश्वविद्यालय जानुपर्ने बताएका हुन्।
लुम्बिनी, बौद्ध दर्शन र विश्वविद्यालय एक अर्काका परिपुरक भएर अघि बढ्दा समग्र क्षेत्रको विकास हुने उनले बताए ।
उनले विश्वविद्यालयका लागि पूर्वाधार निर्माण गर्न १ सय विगाहा जमिन आवश्यक रहने र त्यसको प्रक्रिया छिट्टै टुंगिने विश्वास समेत दिलाए। जनस्तरबाट सञ्चालन हुने ऐन भए पनि सरकारले बजेट बिनियोजन गर्दै बौद्ध शिक्षाको विकासमा योगदान पुर्याउने नेता पौडेलले बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले बौद्धदर्शन शिक्षा र लुम्बिनीको माध्यमबाट पर्यटन विकास गर्न सकिने भन्दै अबको योजना त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए ।
त्यस्तै प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले बौद्ध दर्शन अध्ययन गर्ने मात्रै नभई व्यवहारिक रुपमा प्रयोग गर्नुपर्ने बताए। उनले विश्वविद्यालयबाट बौद्ध दर्शनसँगै अन्य विषय अध्ययनलाई पनि जोड दिनुपर्ने बताए ।
प्रदेशसभा सदस्य फकुरूद्धिन खानले लुम्बिनीमा बहुविषययुक्त क्याम्पसको आवश्यकता भएको भन्दै लुम्बिनीलाई बौद्ध दर्शनमा मात्रै सिमित गर्न नहुने बताए। बहुभाषिक र टुरिजम सम्बन्धीत विषयहरु लुम्बिनीमा आवश्यक रहेको उनले बताए।
त्यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले लुम्बिनीमा विश्वभरबाट बौद्ध दर्शन खोज्दै आउने वातावरण बनाउनका लागि विश्वविद्यालय र कोष एक भएर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्टार तिलक आचार्यले बजेट अभावमा विश्विद्यालयले लक्ष्य अनुरुप शैक्षिक गतिबिधि अघि बढाउन नसकेको बताए ।
सोही अवसरमा विश्वविद्यालयको पुस्तकालय भवनको शिलान्यास समेत भएको छ । १२ करोड ६८ लाखमा पुस्तकालय भवन बन्न लागेको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले साता व्यापी कार्यक्रम गरी आफ्नो १४ औं वार्षिकउत्सव मनाउंदै छ । मंसिर २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीको आतिथ्यतामा समापन कार्यक्रम हुने बताईएको छ । सो अवसरमा विश्वविद्यालयका नबनिर्मित छात्रावास, अनुसन्धान केन्द्र लगायतका भवनहरु उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
काय्र्रक्रममा क्याम्पस प्रमुख फणिन्द्र न्यौपाने, पूर्व क्याम्पस प्रमुख इन्द्र काफ्ले लगायतले बोल्दै शैक्षिक गतिबिधिको बारेमा जानकारी गराएका थिए । सो अवसरमा विश्वविद्यालयका विभिन्न तहमा अध्ययनरत ३३ जना विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको थियो ।