मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश बन्दा जनताको जीवनस्तरमा सुधार हुने विकासको ढाँचा तयार गर्नका लागि प्रदेश सरकारले आवधिक योजना बनाउन लागेको बताएका छन्।
प्रदेश—५ को आवधिक योजना तर्जुमा सम्बन्धमा सुझाव संकलन गोष्ठीको सोमबार दाङको घोराहीमा समापन गर्दै उनले प्रदेश बन्ने तर बहुसंख्यक जनताको जीवनस्तरमा सुधार नहुने विकासको मोडल अनुपयुक्त रहेको भन्दै प्रदेश बन्दा बहुसंख्यक जनताको जीवनस्तरमा सुधार आउने विकासको ढाँचा तय गर्न आवश्यक रहेको बताएका हुन्।
मुख्यमन्त्री पोखरेलले योजनाबाट प्रतिफल पाउने समुदायसँग जोडिएर योजना बनाउँदा प्रभावकारी हुने भएकाले आवधिक योजना निर्माणका लागि स्थानीयस्तरमा छलफल कार्यक्रम चलाइएको जानकारी दिए।
मुख्यमन्त्री पोखरेलले अहिले आवधिक योजनाको अभावमा योजनामा आधारित बजेट आउन नसकेको स्पष्ट पार्दै आवधिक योजना बनेपछि योजनामा आधारित बजेट आउने दावी गरे। ‘अहिले प्रदेशको बजेट अवधारणामा आधारित छ, अव योजनामा आधारित हुन्छ’, उनले भने, ‘योजनामा आधारित बजेटले प्रदेशको विकासलाई सही बाटोमा लैजान्छ, हामीले लक्षित उद्देश्य हासिल गर्न सक्छौं।’
उनले कृषिको व्यवसायिक विकास र नयाँ पुस्ताको आर्कषण गरी उत्पादन बढाउने कार्यक्रम ल्याइने बताए। कृषिलाई परम्परागत ढाँचाबाट बाहिर निकाल्न सक्दा कृषिमा नयाँ पुस्ताको आर्कषण बढाउन सकिने मुख्यमन्त्री पोखरेलले भने।
उनले असंगठित रुपमा रहेका किसानलाई संगठित बनाउने माध्यम सहकारी भएको बताए। ‘सहकारीको माध्यमबाट कृषिको व्यवसायीकरण र बजारीकरण गर्न सकिने भन्दै उनले छरिएको पूँजी, श्रम र जमिनलाई सहकारीको माध्यमबाट जोड्न सकिने बताए।
उनले दक्ष जनशक्ति उत्पादनको लागि प्राविधिक शिक्षाको विकासमा जोड दिनुपर्ने र स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थाको सुधारमा ध्यान दिनुपर्ने बताए ।
प्रदेश सरकारले पाँच वर्षे आवधिक योजना निर्माणका लागि मंसिर ६ गतेदेखि प्रदेशका १२ वटै जिल्लामा छलफल शुरु गरेको छ। छलफल मंसिर २३ गते सकिने छ।
जिल्लातहबाट प्राप्त सुझाव समावेश गरी तयार गरिएको अवधारणा राष्ट्रिय योजना आयोगमा सुझावका लागि पठाइन्छ। त्यहाँबाट प्राप्त सुझावपछि आवधिक योजनालाई अन्तिम रुप दिइने प्रदेश सरकारका प्रमुख सचिव डा.तिर्थ ढकालले जानकारी दिए।