नेपाल कम्युनिष्ट पार्टीका यूवा केन्द्रीय सदस्यहरूले केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका छन्।
बुधवार एमाले संसदीय दलको कार्यालयमा पार्टीका महासचिव विष्णु पौडेललाई उक्त ज्ञापन पत्र बुझाएको केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले बताइन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सम्बोधन गरिएको ज्ञापनपत्र उनीहरूले समय नदिएपछि महासचिव पौडेललाई बुझाएको पनि उनले बताइन्।
नेकपा एमाले र माओवादी बीच गएको वैशाखमा एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी बनेको थियो। एकिकरण पछि बनेको केन्द्रीय समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन। नयाँ बनेको दल नेकपामा ४ सय ४१ केन्द्रीय सदस्य छन्।
ज्ञापनपत्रमा पार्टी एकीकरणको काम छिटो सक्नुपर्ने लगायतका माग छन्। ज्ञापनपत्र बुझाउने केन्द्रीय सदस्यहरू रामकुमारी झाँक्री, ठाकुर गैरे, जयन्ती राई र जगन्नाथ खतिवडा लगायत छन्।